राजनीतिक मूलधारबाटै किनारा लाग्दै काङ्ग्रेस !

राजनीतिक मूलधारबाटै किनारा लाग्दै काङ्ग्रेस !


■ दामोदर पौडेल

के नेपाली काङ्ग्रेसले भारत वा चीन, अमेरिका वा रुसको आशीर्वाद नलिने राजनीति गरेर गल्ती गरेको हो ? के यसो गर्नु काङ्ग्रेसको लागि कठिनाइको कारण हो ? यो किमार्थ होइन ।

लोकतन्त्रमा राजनीतिक विचारको मात्र कुरा गर्दा पनि पाँच वर्षमा चुनाव दोहोरिन्छ । जनताले विविध कारणले समय समयमा नयाँ दल छान्छन् । नेपालमा पनि कम्युनिष्टको विकल्प काङ्ग्रेस हुनपर्ने हो । तर अब जनता समाजवादी पार्टीले आफ्नो प्रभाव मधेसबाट पहाडमा बढाउने प्रयास गर्दैछ । उनीहरू र काङ्ग्रेसमा के फरक छ र ? बरु उनीहरूको नजिक भएमा भारतमा केही थप सुविधा पाइएला कि ? भारतको विरोधमा केन्द्रित भएपछि चीनले हामीलाई सहयोग गर्दछ । ‘भारतीयहरूको प्रभाव धेरै बढ्यो, चीनको नजिक भएर त्यो प्रभाव हटाउनु पर्दछ’ भन्ने भावना मानिसका मनमा आउन थालेका छन् ।

बेलायत जस्तो देशमा त पुँजीपतिहरूलाई चाहनेहरू कन्जर्भेटिभ पार्टीमा छन् भने मजदुरको बढि हित चाहानेहरू लेवर पार्टीमा छन् । बेलायत दुई ठुला देशको चेपुवामा छैन र सम्पन्न पनि छ । तर पनि मध्यम मार्गमा रहेको लिवरल पार्टी कहिल्यै पहिलो र दोश्रो हुन सकेको छैन । यसो हुनुको कारणले सबैलाई समेट्ने भावनाको विकास हुन सकेन ।

हामीले पहाड–तराइ हैन, हामी त नेपाली मात्र हौँ भन्ने भावनालाई कमजोर बनाएका छौँ । जातीय आन्दोलन र जातीय मुक्ति मोर्चा जस्ता भावनाले एक जातप्रति अर्को जातको घृणा बढ्दो छ । अर्को जातका मानिसहरूका कमजोरी मात्र देखिन थालेको छ । के उग्र जातीय भावनामा नेपाली काङ्ग्रेस बाँच्न सक्छ ? अब सबै मानिस एक हौँ र सबै समान हुनु पर्दछ भन्ने भावना त मर्दै गएको छ ।

विश्वमा लोकतान्त्रिक समाजवादको नाम नै नलिएर पनि आधारभुत आवश्यकता पूरा गर्ने धारणा विकसित देशमा प्रष्ट छ । पश्चिमी युरोप र क्यानडा जस्ता देशमा आधारभुत आवश्यकता राज्यको दायित्व नै बनेको छ । बेलायत, अमेरिका, जापान जस्ता देशहरूमा पनि बेरोजगारहरूका लागि उचित प्रबन्ध छन् । लोकतन्त्र र समानता, विकास र शान्ति पुरक बनेका छन् । भारत र नेपालमा किन फरक अवस्था आयो ? विनोवा भावेले सबैको हित चाहे । उनी समाजवादी नै थिए । राममनोहर लोहिया, मधु दण्डते, जयप्रकाश नारायण जस्ता समाजवादी नेताहरू भारतका आदर्श हुन् । तर भारतमा समाजवादी दल नाम गरेका दल राष्ट्रिय स्तरका दल नै बन्न सकेनन् । भारतमा गरिवी निवारण मुख्य आवश्यकता हो । तर भाजपा हिन्दुमतको लागि लविङ गरिरहन्छ र काङ्ग्रेस मुसलमानहरूको । मत पनि त्यही आधारमा आउँछ । नेपालीहरू पनि देशवासीबीच नै द्वन्द्वमा बाँच्ने र त्यो द्वन्द्वको लागि विदेशीको सहारा लिएर झनै आपसमा विवाद बढाउने कि नेपालीहरू मिल्ने बिन्दु खोज्ने ? यही बिन्दुमा नेपाली काङ्ग्रेसको हैसियत हुन्छ । देशको समस्या समाधानको लागि देशमा नै उपाय खोजिनु र खोज्ने भावना र वातावरण बन्नु महत्वपुर्ण छ । देशलाई उग्रतामा लग्नेहरूका भनाइ सुन्दर लाग्न सक्छन् । तर, गलत लक्ष्यले देश सधैं द्वन्द्व र विघटनको भुमरीमा फस्न सक्दछ ।

काङ्ग्रेसले लोकतन्त्रका सर्वमान्य सोच, समानताका आदर्शहरूलाई ध्यान दियो । काङ्ग्रेसले सबै दलहरूको बराबर हैसियत र जनताको पनि समान हैसियत चाह्यो । यो काङ्ग्रेसले नै इमान्दारीको लागि सुरु गरेको कार्य हो तर लागु भइरहेको छ त ?

मानौँ वा नमानौँ, नेपाल पनि जटिल र नराम्रो ध्रुवीकरणमा गइरहेको छ । चीन नेपाली राजनीतिमा स्थायी सहयोगी कम्युनिष्टहरूलाई नै बनाउन चाहन्छ भन्ने देखिन्छ । अरुलाई बनाउने आवश्यकता पनि रहेन वा सभव भएन । हिन्दी भाषाको पक्षमा बोल्ने त कास्टिङ मात्र हो, संसदमा नै भारतले नेपालको सीमाना मिचेको छैन भन्ने नेताहरू निस्किए । अर्कोतर्फ मन्त्रीले नै चीनले नेपालको सीमाना मिचेको छैन भनेको पानि पाइयो । यसका नेपाली काङ्ग्रेस कहाँ रहने ? भारत र चीन दुवैको पहिलो चाहना अरु नै भएपछि काङ्ग्रेस स्वतः नै राष्ट्रवादी पार्टी भएको एउटा प्रमाण हो । तर यो जनताले बुझेको छ ? काङ्ग्रेसका नेताहरूले यो समेतका तथ्यहरू उजागर गर्न सकेका छन् ?

नेपाली काङ्ग्रेस भनेको सुवर्ण शमसेर जबराले राणा भएर पनि लोकतन्त्रको विपक्षमा रहेका राणा शासनको विरुद्धमा तन, मन र धन लगाएर राणा शासन फाल्न योगदान गरे । उनले प्रष्ट रूपमा कोही पनि जातको आधारमा हैन बरु न्यायको आधारमा आफ्नो हुन्छ, समानताको आधारमा आफ्नो हुन्छ भन्ने सन्देश दिए । विपीले विचार र विवेकको आधारमा मानवीय समानता र विकासले नै शान्ति दिन्छ र त्यो लोकतन्त्रको माध्यमबाट मात्र स्थायी र वास्तविक हुन्छ भन्ने विचार प्रवाह गरे । गणेशमान, महेन्द्रनारायण निधी जस्ता नेताले पदलाई कहिल्यै जनताको हितभन्दा माथि राखेनन् । त्यो छवि र इमान्दारी नेपाली काङ्ग्रेसका नेतामा अहिले छ कि छैन ?

काङ्ग्रेस सिसाको घरमा बस्ने जात हो । यसले आफ्ना सबै कार्य पारदर्शी हुनु पर्दछ भन्ने मान्यता राख्दछ । त्यति मात्र हैन सिसाको घरमा बस्नेले राम्रोको लागि मिलेर बस्नु पर्दछ र अरुको पनि आवश्यकता र हित हेर्नु पर्दछ भन्नेमा ध्यान दिन्छ । अन्यथा सिसाको घर सजिलैसँग तहसनहस हुन्छ । जनतालाई र आफ्नै साथीहरूलाई गलत ब्यवहार गरेमा त्यसको परिणाम बढिमा पाँच वर्षमा प्राप्त हुन्छ । लोकतन्त्रको लागि काङ्ग्रेसले बलिदान दिन्छ तर लोकतन्त्र आएपछि काङ्ग्रेसले यो आफूले ल्याएको हो भनेर अरु दलभन्दा आफ्नो दलको फरक र ठुलो हैसियत चाहँदैन भन्ने आशय विपीले धेरै पटक राखेका थिए । काङ्ग्रेस, कम्युनिष्ट र पञ्च तथा मधेशकेन्द्रित दलहरूमा रहेको मुख्य भिन्नता नै यही हो कि कम्युनिष्टहरूले हिंसात्मक आन्दोलन कम्युनिष्ट पार्टीको सर्वसत्तावादको लागि भयो । चाहे वर्ग शत्रुको अन्त्य होस् वा माओवादी आन्दोलन । पञ्चहरूले राजाको आवश्यकता नै देखे । मधेसकेन्द्रित दलहरूले पीडित र पीडक जातिको मापदण्ड बनाएर राजनीति गरे । काङ्ग्रेसले लोकतन्त्रका सर्वमान्य सोच, समानताका आदर्शहरूलाई ध्यान दियो । काङ्ग्रेसले सबै दलहरूको बराबर हैसियत र जनताको पनि समान हैसियत चाह्यो । यो काङ्ग्रेसले नै इमान्दारीको लागि सुरु गरेको कार्य हो तर लागु भइरहेको छ त ?

काङ्ग्रेसले जनताको मन जित्न सक्दछ तर मत जित्न भने कठिन होला । अहिले त मत जित्ने पनि प्रष्ट अवस्था छ भन्न सकिँदैन ।

अब त पैसा नभइ चुनाव नजितिने भयो । काङ्ग्रेसका नेताहरू धेरै गरिव भएकोले या पैसा कमाउन पर्ने भयो या बाहिरबाट ल्याएर चुनाव जितेर काङ्ग्रेसलाई ठुलो पार्टी बनाउन सक्नेहरूलाई ल्याउनृुपर्ने भयो । ती कम्युनिष्ट पार्टी, राप्रपासमेत पदको लागि नै छोडेकाले काङ्ग्रेसा प्रवेश गरेर राम्रो गर्लान् ? तर अरु पार्टीमा जस्तै काङ्ग्रेसमा पनि चुनाव जित्नको लागि यो आवश्यक जस्तो देखिन थालेको छ । सेन्टिमेन्टल मत पनि काङ्ग्रेसमा नहुने, पैसावालाले चुनाव जिते पनि काङ्ग्रेससँग निर्णायक हैसियत रहेन भने काङ्ग्रेससँग विदेशी शक्तिलाई कुनै डर हुँदैन र आशा पनि हुँदैन । त्यस्तासँग स्वार्थ पूरा गरिदिने क्षमता पनि हुँदैन । यो पक्ष विचारणीय हो ।

त्यसो त कम्युनिष्टहरू सबै चीनका सहयोगी बन्ने छन् भन्न पनि सकिँदैन । यसको लागि नेताहरूका बच्चाको पढाइ र रोजगारी चीनले सुरक्षित गर्नु पर्दछ । यसमा चीन पछाडि छ । सत्ताको हानथापमा धेरै पटक साथ नपाएपछि सधैं सबै कम्युनिष्टहरू चीनसँग नजिक हुन्छन् भन्ने पनि होइन । भारतले पनि प्रयोग गर्न सक्दछ, तर भारतले भने स्थायी राजनीतिक सहयोगी शक्तिको निर्माण गर्दैछ वा प्रकारान्तरले हुँदैछ । या, भारतको बाध्यता र षड्यन्त्र दुवै हुन सक्दछ । बाध्यता यसकारणले कि आफ्नो नजिकको शक्ति तयार नभएसम्म सत्तामा पुग्न सहयोग नगरे जहिले पनि जसले पनि भारतको विरोध गर्ने चलन छ, विशेष गरेर कम्युनिष्टहरू यसो गर्छन् ।

सरकारमा गएपछि सत्ताको लागि उपयुक्त भएसम्म भारतको नजिक हुने र जनतासँग मत लिन राष्ट्रियताको कुरा गरेर भारतविरुद्ध मत लिने नेपाली काइदा जस्तो पनि भएको छ । गरिवी र जातीय दुर्भाव मत पाउने माध्यम बन्दछ तर जनताको वास्तविक हितको द्योतक बन्दैन । यो परिस्थितिमा काङ्ग्रेसले जनताको मन जित्न सक्दछ तर मत जित्न भने कठिन होला । अहिले त मत जित्ने पनि प्रष्ट अवस्था छ भन्न सकिँदैन । कम्युनिष्टहरू र जसपाहरूले जति बढि गल्ती गरे त्यति नै फाइदा हुन्छ कि भन्ने हो । जबकि, अन्य दलका गल्तीलाई जनताबीच लैजाने संयन्त्र, इच्छाशक्ति र खुबी पनि काङ्ग्रेसमा छ त ?!