कोभिड-१९ बाट विदेशमा १६० नेपालीको मृत्यु

कोभिड-१९ बाट विदेशमा १६० नेपालीको मृत्यु


विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।

शनिबार (३ साउन) साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।

विदेशमा अलपत्र हजार नेपाली स्वदेश फर्किए

विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट ६ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सले बहराइनबाट १२९ यात्रु र एक शव ल्याएको छ । दोहाबाट पनि १४९ यात्रु र दुई शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५६ र बहराइनबाट १३९ नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै फ्लाइ दुबईले दुबईबाट १५७ नेपाली काठमाडौं ल्याएको छ ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स दुबई र दोहा तथा हिमालय एयरलाइन्स दोहा र अबुधाबी प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।