■ रणधीर चौधरी
प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता भानु जयन्तीको अवसरमा एउटा अप्रत्यासित अभिव्यक्ति दिएका सन्दर्भ यतिबेला निकै चर्चामा छ । झण्डै २५ वर्षसम्म चर्को विवाद र बहसपछि विवादित भूमि हिन्दुको पक्षमा ल्याएको उत्तर प्रदेश (भारत)स्थित राम–मन्दिर रहेको अयोध्या राम–जन्मभूमि नभएर नेपालको ठोरीमा भएको प्रधानमन्त्रीको अभिव्यक्तिले तरङ्ग ल्याउनु अस्वाभाविक थिएन । यस्तो अभिव्यक्ति प्रधानमन्त्रीले किन दिए होलान् ? तथ्यबिना यस्तो गम्भीर विषयमा प्रमले किन बोल्नु पऱ्यो ? यस्तो जिज्ञासा आमजनता तथा राजनीतिक दलका नेताहरूले पनि उठाएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त यहाँसम्म भने कि ओलीजीको स्वास्थ्यावस्था कमजोर छ । उहाँ के बोल्ने के नबोल्ने भनी सोच्नु नै हुन्न । तर के प्रम ओलीले त्यत्तिकै मुखमा आएर ‘रामको वास्तविक जन्मस्थल नेपालको ठोरीमा हो’ भनी अभिव्यक्ति दिएका होलान् त ? प्रमको अभिव्यक्तिको रहस्यबारे यस आलेखमा चर्चा गर्ने जमर्को गरिएको छ ।
प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे विवादित अभिव्यक्ति दिएपश्चात् उनका ‘अरिँगाल’बाहेक नेपाल कम्युनिस्ट पार्टीदेखि नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीबाट पनि आलोचना खेप्नु परिरहेको छ । बौद्धिक समाजले पनि ओलीलाई आलोचनाको घेरामा राखेको छ । नेपालमा हिन्दुवादी संगठनहरू ओलीको विरोधमा मनपेटले लागेको अवस्था छ । भारतमा समेत प्रमको बयानलाई लिएर व्यापक विरोध मात्र भएको छैन अपितु जनस्तरमा नेपालका प्रमको पुतलासमेत दहन गरिएको छ । आलोचनाको ब्यापकता देखेर पराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको बचाउ गर्ने प्रयास गरेको छ ।
त्यसैगरी भारतको विदेश मन्त्रालयले श्रीराम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गऱ्यो । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवलाई प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे प्रश्न सोधिएको थियो, जवाफमा उनले ‘नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिइसकेको’ भन्दै थप टिप्पणी नगर्ने बताए ।
भाजपा त्यही पार्टी हो जसको जन्म नै उत्तर प्रदेशमा रहेको राममन्दिर अर्थात् राम जन्मभूमिको मुद्दालाई प्रधानताका साथ उठाएर भएको थियो । भाजपाको आधार स्तम्भ भनेको राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) जसले हिन्दुधर्मको रक्षा र प्रचारलाई अहमता दिँदै आएको छ । अहिले भाजपा सरकारमा प्रधानमन्त्रीदेखि लिएर रक्षा तथा गृहमन्त्री, सबै आरएसएसका प्रचारक रहेका छन् । केपीको अभिव्यक्तिलाई भाजपाका नेताहरूले सामान्य ढंगले लिएका हुनै सक्दैन ।
गत वर्ष नेपालमा जसरी पानीजहाज चलाउने परियोजनासम्बन्धी अभिव्यक्तिको विपक्षीले ‘प्रधानमन्त्रीले बकमफुसे कुरा गर्नुहुँदैन’ भनी आलोचना गर्दा प्रधानमन्त्रीले पानीजहाज कार्यालय नै स्थापना गरेर विपक्षीलाई ‘देखाइदिए’, त्यसरी नै ठोरीमा भगवान श्रीरामको जन्म भएको र राम नेपाली हुन् भनी अनुसन्धान गर्नको लागि पुरातत्व विभागलाई काम थाल्न ‘खटाइदिए’ हुने ! कस्तो विडम्बनापूर्ण अवस्था हो यो । देशका प्रमले पोख्त तथ्य तथा अध्ययनको अभावमा नेपाल–भारतबीच सम्बन्ध चिसिएको बेला विवादित अभिव्यक्ति दिन्छन् !
अब चर्चा गरौँ केपी ओलीको अभिव्यक्तिको अन्तर्य बारे । सुन्दा सपाट लाग्न सक्छ तर प्रमको भित्री मनसाय रहश्यपूर्ण त छ नै, एउटा प्रयोग पनि हो । पछिल्लो समय वर्तमान सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जसरी संविधान संसोधन गऱ्यो, भारत चिढिएको छ । ओलीको विभिन्न प्रयासका बाबजुद भारतले नेपालसँग सम्वादहीनताको कुटनीति अर्थात् ‘साइलेन्स डिप्लोमेसी’ अवलम्बन गर्दै आएको छ । संविधान संशोधनपश्चात् ओलीका विशेष दूतको रूपमा जसरी गोकुल बासकोटामार्फत् दिल्लीसँग सम्वादहीनता अन्त्यको निमित्त समन्वयको लागि भारतीय राजदूतलाई आग्रह गरेको समाचार छापामा आयो, तैपनि सम्वाद अगाडि बढ्न नसक्नुले दिल्लीको ‘मौन कुटनीति’लाई प्रस्तुत गर्छ । साथै नियमित प्रेस सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाली पराष्ट्र मन्त्रालयले दिएको स्पष्टिकरणलाई आधार देखाएर थप प्रतिक्रिया नदिनु नेपाल–भारतबीचको सम्वादहीनताको कठोरतम् रूपलाई दर्शाउँछ भन्नु अतिशयोक्ति नहोला ।
राम जन्मभूमिबारे केपी ओलीको बयानको निहित उदेश्य भनेको भारतलाई उक्साउनु नै रहेको बुझ्न सकिन्छ । भारत बोलोस्, भारतले संवादको लागि अग्रसरता देखाओस् भन्ने प्रधानमन्त्री ओलीको आशय हुनुपर्छ । त्यही भएर होला, करोडौँ हिन्दुको आस्थाको केन्द्र मानिने भगवान रामबारे प्रम ओलीले अभिव्यक्ति दिए । यसले ओलीको निहित स्वार्थ पूरा हुने छनक भने देखिँदैन बल्की दिल्ली र काठमाडौंबीच देखिएको चिसो सम्बन्ध दुई देशबीचको नागरिकबीच रहेको परापूर्व कालदेखिको सम्बन्धमाथि कुठाराघात गर्नेचाहिँ निश्चितप्रायः छ ।
राम जन्मभूमिबारे केपी ओलीको बयानको निहित उदेश्य भनेको भारतलाई उक्साउनु नै रहेको बुझ्न सकिन्छ । भारत बोलोस्, भारतले संवादको लागि अग्रसरता देखाओस् भन्ने प्रधानमन्त्री ओलीको आशय हुनुपर्छ ।
विदितै छ, भारतमा भारतीय जनता पार्टी (भाजपा)को बलियो सरकार बनेदेखि नै हिन्दुवादी संगठनहरूको बिगबिगी बढेको छ, भारतमा । भाजपा त्यही पार्टी हो जसको जन्म नै उत्तर प्रदेशमा रहेको राममन्दिर अर्थात् राम जन्मभूमिको मुद्दालाई प्रधानताका साथ उठाएर भएको थियो । भाजपाको आधार स्तम्भ भनेको राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) जसले हिन्दुधर्मको रक्षा र प्रचारलाई अहमता दिँदै आएको छ । अहिले भाजपा सरकारमा प्रधानमन्त्रीदेखि लिएर रक्षा तथा गृहमन्त्री, सबै आरएसएसका प्रचारक रहेका छन् । केपीको अभिव्यक्तिलाई भाजपाका नेताहरूले सामान्य ढंगले लिएका हुनै सक्दैन ।
हामीलाई थाहा भएकै कुरा हो कि अहिलेसम्म दिल्ली र काठमाडौंबीच तिक्तता उत्पन्न भए पनि नागरिक स्तरको सम्बन्धमा बैमनस्यता देखिएको छैन । तर भारतमा हिन्दुवादी संगठनहरूको कट्टरतालाई हेर्दा ओलीको अभिव्यक्तिले भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूको लागि घातक सिद्ध नहोस् । भारत सरकार यस्तो अवस्था आउन नदिन सक्रिय रहेको बुझिएता पनि धार्मिक मुद्दाहरूले निम्त्याउँदै आएको घटनाहरूलाई हेर्दा अवस्था डरलाग्दो किसिमले उत्पन्न नहोस् भनी कामना गर्नुको विकल्प छैन ।
ओलीले दिएका अभिव्यक्तिलाई ठाडै गलत सावित गर्नु न्यायसँग पक्कै हुँदैन होला यद्यपि यति आवश्यक भन्न सकिन्छ कि उक्त अभिव्यक्ति कुनै अध्येता, अनुसन्धानकर्ता वा कुनै सामान्य नेताले भनेको भए यसको ब्याख्या र चर्चाको स्तर पनि सामान्य नै हुन्थ्यो । तर प्रम ओलीले यस्तो अभिव्यक्ति दिएर नेपाल-भारतबीचको सांस्कृतिक विरासतमाथि नै धावा बोली दुई देशबीचको इतिहासमा ‘कालो पाना’ थप्नुभन्दा खास केही गरेका छैनन् ।
भारतीय स्वतन्त्रता संग्रामका महानायक महात्मा गान्धीले लेखेका भजनको पङ्क्ति सम्झनु सान्दर्भिक ठान्दछु, ‘रघुपति राघव राजा राम पतीत पावन सीताराम…’ अर्थात्, राम नाममा यस्तो शक्ति छ जसले अनैतिकलाई पनि नैतिक बन्ने अवसर दिन्छ । असत्यको मार्गमा हिँड्नेलाई पनि सत्यताको पथमा आउन प्रेरित गर्छ । आशा गरौँ, कुण्ठित भावना र अपरिपक्वताको कारण दुई देशबीच रहेको सदियौँको सम्बन्ध बिगार्न खोज्नेहरूलाई रामले सदबुद्धि दिउन् ।
प्रतिक्रिया