अब पानी पनि मोवाइल एपबाटै अर्डर गर्न मिल्ने

अब पानी पनि मोवाइल एपबाटै अर्डर गर्न मिल्ने


डा. पानी वाटर डेलिभरी एपले मोबाइल एपको माध्यमबाट नेपालमा पहिलो पटक पानी अर्डर गर्न मिल्ने सेवाको शुरुवात गरेको छ । आज (५ साउन) देखि शुरु गरिएको यो सेवा पहिलो चरणमा नयाँ बानेश्वर, पूरानो बानेश्वर, ज्ञानेश्वर, गौशाला, माइतीघर, शंखमूल, सिनामंगल, मैतिदेवी, तिलगंगा, गैरिगाउँ, कोटेश्वर, डिल्लीबजार, अनामनगर, बिजुलीबजार, पेप्सीकोला, काँडाघारी र मूलपानीका सेवाग्राहीहरुलाई उपलब्ध हुने जानकारी दिइएको छ ।

क्रमशः काठमाडौं उपत्यकाका सबै स्थानमा सेवा प्रदान भएपश्चात देशभरमा सेवा विस्तार गर्ने लक्ष्य राखिएको डा. पानीका म्यानेजिङ डाइरेक्टर सुजित श्रेष्ठले जानकारी दिए ।

बताइएअनुसार नेपालमा भएका खानेपानी प्रदान गर्ने प्रणालीहरुबारे अध्ययन गर्दा खानेपानीको गुणस्तर, खानेपानीको जारहरु भण्डारण स्थिति, ढुवानी तथा डेलिभरीमा सेवाग्राहीहरुको चासो रहेको र पानी ल्याइने जारको गुणस्तर कम हुँदा निराशा बढेको पाइयो । यही समस्यालाई समाधान गर्न डा. पानी एपले नेपाल सरकारद्वारा निर्धारण गरिएको मापदण्ड पालना गर्दै पूर्णतः ल्याब टेष्ट गरिएको खानेपानी वितरण गर्ने सेवाको शुरुवात गरेको हो ।

डा. पानीबाट डेलिभर गरिने जारहरु हाजिनिकल्ली ह्यान्डल गरिनुका साथै फ्याक्ट्रीबाट घरमै जार पुऱ्याइन्छ, जसले गर्दा घामको किरणमा पानी धेरै समयसम्म रहन पाउँदैन र नावश्यक संक्रमणबाट पनि सुरक्षित हुन्छ । डेलिभर गर्ने कामदारहरुले पनि मास्क, पञ्जा र हेयर कभर लगाएर पानीको जारलाई संक्रमण हुनबाट बचाउन मद्दत पुऱ्याउँछन् ।

सेवाग्राहीको अगाडि जारलाई यूभी लाइट र सेनिटाइजर स्प्रे गरेर मात्र डेलिभर गरिने भएकाले सफा तथा संक्रमण रहित खानेपानी जार घरदैलोमा पुऱ्याउनेमा डा. पानी विश्वस्त रहेको छ ।