कोभिडबाट बच्न ट्राफिक प्रहरीको नयाँ रणनीति

कोभिडबाट बच्न ट्राफिक प्रहरीको नयाँ रणनीति


■ सनत आचार्य

कोभिड सङ्क्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन ट्राफिक प्रहरीले नयाँ उपाय अवलम्बन गरेको छ ।

आइतबार (४ साउन) देखि प्रयोगमा ल्याइएको यस उपायअन्तर्गत ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका करिव एक हजार पाँच सय ट्राफिक प्रहरीलाई भाइजर (फेस सेल्ड) उपलब्ध गराएको छ, जो अहिले रोड–ड्युटीमा खटिने हरेक ट्राफिक प्रहरीले प्रयोग गरेका देखिन्छन् ।

ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रवक्ता एसपी बामदेव गौतमका अनुसार पछिल्लो समयमा काठमाडौं उपत्यकाभित्र सडकमा अहोरात्र खटिने ट्राफिक प्रहरीहरू आफु पनि सङ्क्रमणबाट बाँच्न र यात्रुहरूलाई पनि सङ्क्रमणबाट बचाउन महाशाखामातहत उपत्यकाका ४४ स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयका सम्पूर्ण ट्राफिक प्रहरीलाई भाइजर वितरण गरिएको छ । हावाबाट समेत कोरोना संक्रमण हुन सक्ने जानकारी आएसँगै आफ्नो र यात्रुको सुरक्षाका लागि यो प्रकृया अपनाएको उहाँले बताउनुभयो ।

एसपी गौतमका अनुसार सरकारले बन्दाबन्दी क्रमिक रूपले केही खुकुलो बनाउँदै गएपछि सडकमा जोर–बिजोर प्रणालीअन्तर्गत सवारी साधन गुडिरहेको सन्दर्भमा विभिन्न तरिकाले ट्राफिक प्रहरी सङ्क्रमितहरूको सम्पर्कमा आउन सक्ने सम्भावना भएको र अहिले वर्षातको समय भएको हुँदा ट्राफिक प्रहरीलाई रेनकोटमा भाइजरको समेत प्रयोग गर्न सजिलो भएकोले भाइजरको प्रयोग गरिएको हो ।

ट्राफिक प्रहरीलाई कोरोना सङ्क्रमणबाट सुरक्षित राख्न महाशाखाले पन्जा र फेससेल्ड अनिवार्य लगाउनु पर्ने, सवारी र यात्रु चापलाई हेरी कतै कतै पीपीईको पनि प्रयोग गर्ने गरेको र प्रत्येक ट्राफिक प्रहरीको खल्तीमा सेनिटाइजर समेत उपलब्ध गराएको वहाँले जानकारी दिनुभयो । यसका साथै दिनभर सडक डिउट सकेर व्यारेक फर्किएकाहरूले व्यक्तिगत सरसफाई गर्ने गरेको र घर बाहिर परिवारसँग बस्नेहरूको हकमा कार्यालयदेखि घर र घरबाट कार्यालय मात्र गर्ने र अनावश्यक हिँडडुल नगर्न अनुरोध गरेको र सेवा प्रवाह गर्दा सामाजिक दूरी समेत कायम राख्ने गरेको, यदि सवारी वा यात्रुसम्बन्धी कुनै कागजपत्र हेर्नु परेमा सकेसम्म हातले नछुने र आँखाले हरेर मात्र निर्णय लिने उहाँले बताउनु भयो ।

अर्को एक प्रसङ्गमा एसपी गौतमले सरकारले जोरबिजोर प्रणालीअन्तर्गत नै रहेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएअनुसार ठुला तथा साना सार्वजनिक सवारीमा कुल क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने, चालक र सहचालकले अनिवार्य रूपमा पन्जा, भाइजर, मास्कको प्रयोग गर्नुपर्ने, ढोकाका साथै बसभित्र सेनिटाइजर अनिवार्य राख्नुपर्ने, बसभित्र पनि भौतिक दूरी कायम गर्नुपर्ने र दुुई जनाको सिटमा एक जनालाई मात्र राख्न पाउने र यात्रुले पनि अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने जानकारी दिनुभयो । वहाँले सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर लागू नहुने तर निजीमा चाहिँ पहिलेकै प्रावधान अर्थात् जोरबिजोर प्रणाली लागू हुने पनि प्रस्ट्याउनुभयो ।

ट्याक्सीका हकमा एकाघरका भएमा चालकसहित पाँच जनासम्म बस्न पाउने, नीजि सवारी साधनको हकमा पनि चालकसहित तीन जना बस्न पाउने र पाँच वर्षमुनिका बच्चाहरू भएमा पाँचै जना यात्रा गर्न सकिने जानकारी पनि उहाँले दिनुभयो । मोटरसाइकलको हकमा भने एक जना मात्र बस्न सकिने र अत्यावश्यक काम भएको खण्डमा सोहीअनुसार निर्णय लिन सकिने प्रावधान छ ।

यसरी तोकिएको भन्दा बढि यात्रु बोक्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई केही समयका लागि होल्डमा राख्ने र पहिलो चरणमा सम्झाइबुझाइ गरी छाड्ने गरेको जानकारी पनि एसपी गौतम दिनुभयो ।