ब्यवहारिक कहिले बन्ने हामी ?

ब्यवहारिक कहिले बन्ने हामी ?


■ सुन्दर शर्मा

आराध्यदेव शिवको स्तुति गर्ने उत्तम महिना मानिन्छ श्रावणलाई । यो महिनामा शिवालय नपुग्ने हिन्दु धर्मावलम्बीहरू सायद निकै कम होलान् । जुन शिवालयमा जाँदा पनि भक्तजनको घुइँचो देख्न पाइने महिना हो यो ।

पहेँला वस्त्रधारी बोलबम समुहको सक्रियता बडो रोचक देखिने, बेलपत्र–फुल–गाइको दूध आदि सर्जामको व्यापार पनि लोभलाग्दो गरी फस्टाएको ! महिलाले प्रयोग गर्ने हरियो सारी–चोलो, चुरा–पोते, हरियो कुर्ता–सरवाल तथा शृङ्गारका विविध बस्तुहरूको व्यापार पनि यो महिनामा मनग्य हुने देखियो । ब्रतालुहरूले फलाहारको रूपमा प्रयोग गर्ने फलफुलहरूको ब्यापारमा पनि उस्तै वृद्धि । पशुपतिनाथ मन्दिरवरपरका पसलहरूमा शङ्ख–घन्ट, मोतीलगायत विभिन्न किसिमका बहुमुल्य पत्थर, श्रीखण्ड, पन्चधातुको औंठी आदिको व्यापार पनि अरु महिना भन्दा श्रावण महिनामा कयौँ गुणा बढी हुने !

नागपञ्चमीपछि धेरैजसो सांस्कृतिक पर्वहरू सुरु हुने गर्छन् । जस्तै गाइजात्रा, कृष्णजात्रा, गौरापर्व आदि ।

हामी हिन्दु धर्मावलम्बीहरू हाम्रा विविध संस्कारमा पूजाआजा, आरती, लाखबत्ती प्रज्वलन, दानदक्षीना जस्ता धार्मिक कार्यहरू गर्न औधी रुचि राख्छौँ । तर यी कार्यपश्चात मन्दिरक्षेत्रमा उत्पन्न हुने विविध फोहोर (पूजासामग्रीजन्य) को ब्यवस्थापनलाई चाहिँ नजरअन्दाज गरेर हिँडिदिन्छौँ ।

बितेका श्रावण महिनाहरूमा आफूले प्रत्येक्ष देखेका र भोगेका केही यस्तै चित्त नबुझेका घटनाहरू ब्यक्त गर्दैछु ।

गत श्रावण महिनाको चारवटा सोमबारमा बेलुकातिर आरती गर्ने उद्देश्यले पालैपालो पशुपतिनाथ, कुम्भेश्वर र उमामहेश्वर शिवालयमा पुग्ने मौका मिल्यो मिलाइयो भनौँ । ती मन्दिर क्षेत्रमा यत्रतत्र देखिने फोहर (पूजासामग्रीजन्य) देखेर आश्चर्य लाग्यो । मन खिन्न पनि भयो । यत्रतत्र धुप अगरबत्तीको खोल, पूजा सामग्री ल्याएको दुनाटपरी, पूजासामग्री राखेको पोलिथिन झोला, पिउने पानीका खाली बोतल आदिको थुप्रो जता हेऱ्यो त्यतै देखिने । हामी कतिसम्म असभ्य भएछौँ है भन्ने लाग्यो ।

हामीलाई पूजा र श्रद्धाको नाममा केवल भगवानको शिरमा फुल, बेलपत्र, दुधको धारा चढाउन पायो भने मात्र धर्म हुन्छ भन्ने एक प्रकारको भ्रम परेको छ । भगवानको निधारको चन्दन टीका अक्षता झिकेर आफ्नो निधारमा टाँस्न पायो भने मात्र धन्य हुन पाइने भ्रम पालेर बसेका छौँ हामी । भगवानको मुर्तिमा दुख्नेगरी ढोकाबाहिरबाट रु १ को सिक्का जोडले फ्याँक्दा ठुलो दान गरी पुण्य कमाइयो भन्ठानेर मख्ख पर्छौं ।

सयौँ रुपियाँ पर्ने फूल, बेलपत्र, माला आदि चढाउनको लागि किन्न सक्छौँ तर त्यहीँ उभिएर दुई हात जोडी कुनै वृद्ध व्यक्ति या बेसहारा अपाङ्गले केही सहयोगको अपेक्षा राख्दा ‘खाते..’ भनेर झर्किंदै पन्छिन खोज्छौँ ।

त्यो सयौँ रुपियाँ पर्ने पूजा सामग्री किन्ने पैसाले कुनै गरिवको भोको पेट भर्न र नाङ्गो शरीर ढाकिदिने कार्य गरे कति ठुलो धर्म हुने थियो ! यतातिर हामी सोच्दै सोच्दैनौँ या सोच्न चाहँदैनौँ । गरिवको भोको पेट भरिदिए भगवान त्यसै खुशी हुनुहुन्छ भन्ने सोच हामीमा पलाउनु जरुरी छ ।

अब विभिन्न मठ–मन्दिरमा हामी भक्तजनले गरेको फोहोर ब्यवस्थापनसम्बन्धी कुरा गरौँ । मलाई लाग्छ– हामी सबैले देवालयमा लगेको पूजा सामग्रीजन्य फोहोर आफैले झोलामा टिपेर घरमै ल्याई बिसर्जन गरौँ । मन्दिर जाँदा जहिले पनि एउटा झोला घरैबाट बोक्न नबिर्सौं । पूजा सामग्री लगेका दुना टपरी, बत्ती बालेका बोहोता, अगरबत्तीका खोल आदि सबै उठाइ घरमै ल्याउने । आफूले पानी पिएका खाली बोतल पनि घरमै ल्याउने बानी बसालौँ । कम्तीमा यति सानो कार्य गर्न त हामी सबै नागरिक सक्षम छौँ नि होइन र । धेरै ठुलो कार्य गर्नुपर्ने नै छैन । माथि उल्लेख गरिएका सामान्य लाग्ने तर महत्त्वपूर्ण कार्य गरी हेरौँ त केही न केही फरक अवश्य देख्न पाइने छ ।

ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध हाम्रा मठमन्दिरको फोहोर ब्यवस्थापनमा हामी सबै नागरिक अनुशासित भएर लाग्नुपर्ने देखिन्छ । मठमन्दिरप्रतिको धार्मिक आस्था जोगाउन पनि हामी प्रत्येक सभ्य नागरिकको आवश्यकता देखिन्छ ।

देवालय तथा मठमन्दिर हाम्रा सांस्कृतिक धरोहर हुन् । हामी हिन्दुहरूका आस्था र विश्वासका केन्द्र पनि हुन् यी देवालयहरू । सांस्कृतिक सम्पदाको दृष्टिकोणले हामी निकै भाग्यमानी छौँ । किनभने हामिसँग अनगिन्ती दुर्लभ कलाकृतिले सजिएका मठ–मन्दिर छन् । तर हामी ती अति महत्वपूर्ण सम्पदाहरू बचाउन तथा विकासमा कुनै उत्तरदायी कार्य गरिरहेका छैनौँ ।

चित्तशुद्धिको लागि पनि मठमन्दिर पुग्ने गर्छौं हामी । मन्दिर पुग्दा एकातिर ज्ञान प्राप्त हुन्छ भने अर्कोतिर हृदय पवित्र हुन्छ भन्ने पौराणिक मान्यता छ । हाम्रा ऋषिमुनिहरूले पनि बिमारी परि अशक्त अवस्थामा पनि ‘पाउ अर्थात खुट्टा खोच्याउँदै पनि देवालयसम्म पुग्नु’ भनेका छन् ।

वैदिक युगदेखि नै श्रद्धालु नरनारीले सास्कृतिक पर्वहरूलाई महत्व दिँदै देवालयहरूको यात्रा गर्ने परम्परा कायमै राखेका छन् । यस्ता देवालयहरू अति पवित्र हुन्छन् र यिनले त्यहाँ धाउने ब्यक्तिलाइ समेत पवित्र बनाउँछन् भन्ने मान्यता छ । हाम्रा धार्मिक ग्रन्थहरूले पनि देवालयमा पुग्दा पाइला पाइलामा अश्वमेघ यज्ञ गरेको फल प्राप्त हुने कुरा दोहोऱ्याएका छन् । तर यी धार्मिक ग्रन्थहरूले मर्यादा पालन गर्नु नपर्ने र अनुशासनमा रहनु नपर्ने भनेर कतै भनेका छैनन् । सदा अनुशासनमा रहेर धार्मिक कार्य गर्न सिकाएका छन् ।

मठ–मन्दिरमा यज्ञ पुराण लगाउने, ब्रतबन्ध विवाह जस्ता कार्य सम्पन्न गर्ने, लाखबत्ती प्रज्वलन, रुद्री पूजा, विभिन्न वृत्त थन्क्याउने पूजा, अग्नि होम आदि जस्ता विभिन्न कार्य गर्ने । तर ती विभिन्न कार्य समापन गर्दा उत्पन्न हुने फोहोर ब्यवस्थापन नगरी बासस्थानतिर लाग्ने हामी कति असभ्य बनिदिन्छौँ !?

पूजा अर्थात् सम्मान र ब्रत अर्थात् त्याग भन्ने सामान्य अर्थ हो भने त्यो आफैले मन्दिरमा गरेको फोहोर स्वयमले ब्यवस्थापन गरेनौँ भने कसरी भगवानप्रति सम्मान भयो त ? के ब्रत बसी फूल–अक्षता छर्दैमा पुण्य हुन्छ त ?

केही दिनअघि ललितपुरको ‘हिरन्य महाविहार’ पुग्ने अवसर जुऱ्यो । त्यहाँ पुग्दा बिहारभित्रकै एक सदस्यले सानो–सानो कागजको टुक्रा टिप्दै टोकरीमा राख्दै गरेको दृश्यले मेरो मन लोभ्यायो । सो विहारमा दैनिक हजारौँ वदेशी पर्यटक घुम्न आउँदा रहेछन् । स्वदेशी पर्यटकको पनि बाक्लै उपस्थिति देख्न पाइयो । तर त्यहाँ हाम्रा देवालयहरूमा जस्तो कुनै फोहोरको अंश पनि देख्न पाइएन । म त्यो विहारमा जम्मा पाँच पटक पुगेकी छु, तर कहिल्यै विहार परिसरमा एउटा सानो कागजको टुक्रा पनि फोहोरको रूपमा फेला पार्न सकेकी छैन । त्यहाँ पनि बुद्ध भगवानको दर्शन गर्ने, बत्ती बाल्ने, दान गर्ने चलन रहेछ । तर कति व्यवस्थित ! भक्तजनहरू पूजा सामग्री किस्तीमा लिएर आउँदा रहेछन् । चामल चढाउन मन लागे बुद्धको मुर्तिनेरको पित्तलको कचौरा जस्तो भाँडोमा श्रद्धाले राखिदिने चलन रहेछ । हामीहरू मन्दिर जाँदा परेवालाई चारो छरे जसरी यत्रतत्र चामलको अक्षता छर्दै हिँड्छौँ । ती बिहारमा बत्ती बाल्न चाहनेले निश्चित स्थानमा ब्यवस्थित तरिकाले बत्ती बालेको देखियो । बुद्धका मुर्ती कति सफा ! कतै टीका, अक्षता, फूलमाला केही पनि प्रयोग नगरिएका । कतै होहल्ला नसुनिने । भक्तजनहरू कति अनुशासित ! आहा… शान्त वातावरण जताततै सफा चिटिक्क । मीठो बोल्ने विहार सदस्यको विशेषता नै रहेछ । मानौँ त्यहाँ बसेर २–४ घन्टा ध्यान गर्ने मौका पाउने हो भने बुद्धत्व नै प्राप्त हुन्छ जस्तो ।

त्यो विहार कति पुरानो, कसले बनायो र कसरी बन्यो भन्ने विषयलाई कोट्याउनु मेरो उद्देश्य होइन । त्यहाँको ब्यवस्थापन अनुकरणीय र उदाहरणीय लागेर यहाँ चर्चा गरिएको हो । शाक्य र बज्राचार्यद्वारा सञ्चालित यो विहारमा ब्यवस्थापनको जिम्मेवारी लिनको लागि चुडाकर्म (ब्रतबन्ध) गरिसकेको हुनुपर्ने रहेछ । व्यवस्थापनको लागि एक जनालाई एक महिनाको हिसाबले पालो पर्दोरहेछ । महिना दिनसम्म आ–आफ्नो पालोमा दिनरात खटिनु पर्दोरहेछ । मैले कागजको टुक्रा टिप्दै गर्दा देखेको ब्यक्ति त तिनै ब्यवस्थापनको जिम्मेवारी पाएका वरिष्ठ पो रहेछन् । म त जिल्ल परेँ । उनी आफै अगाडी सरी परिचय गरेर बिहारसम्बन्धी केही महत्वपूर्ण जानकारी दिए । मैले पनि उनलाई हृदयदेखि नै धन्यवाद दिँदै शिष्टाचार निभाएँ । सो विहारमा भुइँमा ओछ्याइएका पौराणिक कालका जस्ता ढुङ्गाहरू घोटेर टिलिक्क टल्काइएका । तिनै ढुङ्गामाथि त्यसै बस्दा पनि कुनै फोहोर नलाग्ने । चारैतिर बस्नलाई परालका सुकुलहरू राखिएका । बुद्धमुर्तिहरू पनि अहिल्यै बोल्लान् कि जस्तो लाग्ने अद्भुत दृश्य । यी सबै दृश्यले मलाइ साँच्चिकै लोभ्यायो ।

घरमा आएर सोचमग्न भएँ कि यी विहारहरू यति सफा र ब्यबस्थित हुन सक्छन् भने हाम्रा मठ–मन्दिरहरू किन यति फोहर ? हाम्रा मठ–मन्दिरको फोहर ब्यवस्थापन सोचेअनुसारको हुन नसक्नुमा प्रमुख कारण हाम्रो पूजा गर्ने तरिका (धेरै भन्दा धेरै पूजा सामग्रीको प्रयोग) हो जस्तो लाग्छ । ब्यवस्थापन समितिहरूको पनि कमजोरी त पक्कै छ । उनीहरू ब्यवस्थापनको काम भन्दा पनि आर्थिक क्रियाकलापमा ज्यादाब्यस्त भएको देख्न र बुझ्न सजिलै सकिन्छ ।

परापूर्व कालदेखि हामीले मान्दै र अनुशरण गर्दै आएका केही सांस्कृतिक परिपाटीलाई अलि–अलि गर्दै परिवर्तन गर्ने बेला आएको छ । देवालयहरूमा गएर ध्यान–जप गरौँ, भगवानको स्तुति गान गर्दै आराधना गरौँ, पाठ गरौँ, भजन–कीर्तन गरौँ, दान–तर्पण गरौँ तर मन्दिर जाँदा धर्मको नाममा अनावश्यक पूजा सामग्री नबोकौँ । साथै मन्दिर परिसरमा आफूले प्रयोग गरेको पूजा सामग्रीजन्य फोहरको ब्यवस्थापन पनि आफैं गरौँ त सुन्दर नतिजा हामी छिटो देख्न पाउने छौँ । यसो गर्न सकेमा आउनै लागेको महिलाहरूको महान चाड तीजमा हाम्रा कुनै पनि शिवालयहरूमा कुनै पनि फोहोर देख्न पाउने छैनौँ । अन्तमा महान् तीजको अग्रिम मंगलमय शुभकामना समस्त दिदी–बहिनी तथा आमा–भाउजुहरूलाई !
[email protected]