खेलकुदसम्बन्धी तेह्र निर्णय गर्दै गर्जियो नेका खेलकुद विभाग

खेलकुदसम्बन्धी तेह्र निर्णय गर्दै गर्जियो नेका खेलकुद विभाग


नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन ६ गते विहिवार वसेको वैठकले खेलकुदको विकास र विस्तारका लागि विभिन्न १३ वटा निर्णय गरेको छ । विभागका प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सो अवसरमा उपप्रमुख मोहनकुमार राई, सचिव मीनकृष्ण महर्जन र विभागका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकका प्रमुख बस्नेतले खेलकुद विभागको प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरुको मनोनयन गरी पार्टीको तर्फबाट खेलकुदको जिम्मेवारी दिएकोमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरवहादुर देउवाप्रति आभार प्रकट गरेका थिए । सो अवसरमा नेपाली खेलकुदमा भैरहेका विकृति र विसंगतिप्रति लक्ष्य साँध्दै समग्र नेपाली खेलकुदको विकास र विस्तारमा होमिने प्रतिबद्धता प्रमुख बस्नेतले जाहेर गरेका थिए । सोही प्रणका साथ विभागले १३ वटा निर्णय गरेको जानकारी गराएका थिए ।

त्यस्तै विभागले खेलकुद क्षेत्रको वृहत्तर विकासलाई ध्यानमा राखी १३औँ सागका स्वर्ण पदकविजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने, टोकियो ओलम्पिक ‘२०२१’ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरूको कोरोना वीमा गर्ने, ओलम्पिक खेलको तयारी र सहभागिता सम्बन्धमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको सहभागिताका लागि गरिने तयारीमा कोरोनाको सुरक्षा र सावधानी अपनाउँदै प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाली काङ्ग्रेस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय ‘सभापति कप फुटबल प्रयोगिता’ सञ्चालन गर्ने, नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रीय कार्यसमितिमा पारित गर्न पेश गरेको विधानलाई आवश्यक कारबाहीका लागि अनुरोध गर्ने, नेकासँग आवद्ध खेलाडी र खेल क्षेत्रका संघसंस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट नेपाली दिदी बहिनी, दाजु भाईहरुलाई जोगाउन सहयोग पुग्ने कार्य गर्ने र खेल क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन र भएकाहरुलाई क्रियाशील गराउन विभिन्न विधाका खेलका प्रशिक्षकहरुको व्यवस्थागरी वडा तहसम्म खेलकुद गतिविधि संचालन गर्ने निर्णय गरेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली जनता र राष्ट्रको पक्षमा रगत पसिना बगाउने प्रजातन्त्रवादी स्वर्गीय नेताहरुको सम्मानमा राष्ट्रियस्तरीय, प्रदेशस्तरीय र स्थानीय स्तरमा विभिन्न विधामा हरेक वर्ष खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्ने निर्णय गरिएको छ । जसमा जननायक स्व. बी.पी. कोइराला, स्व. सुवर्णशम्शेर राणा, स्व. गणेशमान सिंह, स्व. कृष्णप्रसाद भट्टराई, स्व. गिरिजाप्रसाद कोइराला, स्व. सुशील कोइराला, स्व. महेन्द्रनारायण निधि, स्व. मंगलादेवी सिंह, स्व. शैलजा आचार्य, स्व. धनमान सिंह परियार, स्व. खुमबहादुर खड्का, स्व. शेख इद्रिस, स्व. बलबहादुर राई, स्व. बखान सिं गुरुङ, स्व. योगेन्द्रमान शेरचन, स्व. भीमबहादुर तामाङ, स्व. राधा कृष्ण चौधरी, स्व. श्रीमती द्वारिका देवी ठकुरानी, स्व. भूविक्रम नेम्वाङ, शहीद लखन थापा मगर रहेका रहनुभएको छ ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारीको १३ वर्षदेखि २४ वर्षसम्म सेवा अवधि पार गरेका कर्मचारीहरुको पदोन्नति नभएकोमा निजहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने, नेपालको संविधानको भावना र मर्मविपरीत ओलम्पिक कमिटीले विदेशी निकायको सहायता लिँदा सरकारको स्वीकृति लिनु नपर्ने जुन ऐन ल्याएको छ, त्यसको खारेजीको माग गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपालमा सम्पन्न १३औँ साग खेल र नेपालगञ्जमा सम्पन्न ८औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भए गरेका खर्चहरुको हिसाव पारदर्शी गर्न माग गर्ने, नेपाल ओलम्पिक कमिटी र भारतीय टिभी च्यानलहरु बीच भएको १३औँ सागका गतिविधि प्रशारणसम्बन्धी भएको करोडौं रुपैयाँको सम्झौता भएको रकमको हिसाव किताव सार्वजनिक गर्न माग गर्ने तथा खेलकुद संघ दर्तासम्बन्धी अव्यवहारिक र पक्षपातपूर्ण व्यवहार सच्याउनु पर्ने मागसहित निर्णय गरेको छ ।