यस्तो छ नेकपा स्थायी कमिटी बैठकको निर्णय

यस्तो छ नेकपा स्थायी कमिटी बैठकको निर्णय


एमसीसी, प्रधानमन्त्रीको राजीनामालगायत मामलामा निष्कर्षमा पुग्ने भन्दै शुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटीको चौथो बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

मंगलबार (६ साउन) को बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएअनुसार स्थायी कमिटीको बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नेकपाका युवा नेता थापाले दिएको जानकारीअनुसार गत जेठ ३० गते मनसुन सुरु भएयता भएको लगातारको वर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएका छन् । बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपत्तिको कारण साउन ६ गतेसम्म २३३ जनाको ज्यान गएको छ, ९८ जना बेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरविहीन र विस्थापित भएका छन् । तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।

थापाले आफ्नो फेसबुक वालमा लेखेका छन्- ‘स्थायी कमिटीको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपत्तिको यस अवस्थालाई ध्यानमा राख्दै उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गभीर ध्यानाकर्षण गर्दछ । क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न आग्रह गर्दछ । सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवम् युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनर्स्थापनको काममा परिचालित हुन आह्वान गर्दछ ।’