केपीले ब्रह्मास्त्र छोडेपछि…

केपीले ब्रह्मास्त्र छोडेपछि…


प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक अस्त्र छोडेपछि नेकपाभित्रको आन्तरिक द्वन्द्व अर्कै चरणमा प्रवेश गरेको छ । गत असार १० गते शुरु भएर पटक–पटक स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठकले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनेसम्बन्धी निर्णय लिने अघोषित चुनौती दिँदै आएको छ ।

केपीबाट अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद फुत्काउने उद्देश्य भए पनि प्रचण्डको मोर्चाले दुवै पद त्याग्नुपर्ने भन्दै बार्गेनिङ शुरु गरेको थियो । यसबीचमा एकताको सूत्र खोज्न भन्दै चार सदस्यीय कार्यदल निर्माण भएको थियो र, सहमति गर्नकै निम्ति केपी र प्रचण्डबीच अनेकौँ चरणमा सम्वाद हुँदै आएका छन् ।

यस क्रममा प्रधानमन्त्री ओलीले निर्वाचित पद भएकोले अनधिकृत रूपमा पद त्याग गर्दा गलत सन्देश जाने बताउँदै आगामी मङ्सिरमा महाधिवेशन गरी प्रचण्डलाई एकल अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको थियो । सचिवालय पुनर्गठन, मन्त्रीमण्डल पुनर्गठन, स्थायी समिति र पोलिटब्यूरोसमेतको पुनर्गठन गर्ने तथा अख्तियारलगायत रिक्त स्थानहरूमा भागबण्डाका आधारमा नियुक्ति गर्नेलगायतका विषयमा दुई नेताबीच छलफल भएको बताइन्छ ।

यस क्रममा प्रचण्ड केपीसँग सहमति गरेर अघि बढ्न तयार पनि हुनुभएको थियो । माधव नेपाललगायतका नेताहरूले दुई जनाबीच सीमित रहने सहमति मान्य नहुने चेतावनी प्रचण्डलाई दिएपछि प्रचण्ड झण्डै बनिसकेको सहमति तोड्न बाध्य हुनुभयो । त्यसैले उहाँले राष्ट्रपति निवासमा गएको कुराप्रति पश्चाताप गर्दै ‘परिबन्दमा परेर गएको’ हास्यास्पद स्पष्टिकरण दिनुभयो । त्यसपछि यसै साताको प्रारम्भमा भएको भेटवार्ताका क्रममा केपीले प्रचण्डसमक्ष ‘जनताको बहुदलीय जनवाद’लाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउने भए आफू प्रचण्डलाई एकल अध्यक्ष स्विकार गर्न तयार हुने प्रस्ताव (अस्त्र) प्रस्तुत गर्नुभयो ।

केपीको प्रस्तावलाई लिएर सोमबार (साउन ५ गते) साँझ आफ्नै निवासस्थानमा प्रचण्डले माओवादी पक्षका नेताहरुलाई बोलाएर छलफल गर्नुभएको थियो । प्रचण्डले बोलाएको ‘माओवादी’ बैठकमा रामबहादुर थापा बादल, लेखराज भट्ट र जनार्दन शर्मा उपस्थित भएनन् । उपस्थितमध्येका केही नेताहरूले केपीलाई पद छोड्न दबाब दिन नहुने विचार व्यक्त गरेपछि प्रचण्ड थप विचलित हुनुभएको बताइन्छ । तर उहाँले ‘जनताको जनवाद’ छोडेर ‘जनताको बहुदलीय जनवाद’मा सहमति जनाउन नसकिनेचाहिँ स्पष्ट गर्नुभएको छ ।

केपीको पछिल्लो अश्त्रले एमाले कित्तालाई थप एकताबद्ध तुल्याउने र प्रचण्डलाई कमजोर बनाउने काम गरेको झलनाथ खनाल वैचारिक रूपले समेत प्रचण्डसँग निकट भए पनि माधवकुमार नेपालले भने ‘कुनै पनि हातलमा ‘जबज’को लाइन नछोड्ने जानकारी प्रचण्डलाई गराउनुभएको छ ।