राजश्व असुल गर्न मात्र सरकारले लकडाउन खोलेको काङ्ग्रेसको आरोप

राजश्व असुल गर्न मात्र सरकारले लकडाउन खोलेको काङ्ग्रेसको आरोप


सरकारले कुनै पूर्वतयारी नगरी राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट प्रेरित भइ लकडाउन खोल्ने निर्णय गरेको आरोप प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले लगाएको छ । कोभिड–१९ अनुगमन समितिका संयोजक रहेका पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गर्दै मूलभूत रूपमा सरकारका हरेक निर्णयहरू हठात र तयारीरहित देखिएको उल्लेख गर्दै लकडाउनको लामो अवधि विना तयारी र विना उपलब्धि नै सरकारले सकाएको आरोप लगाएका हुन् ।

अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमणप्रति सरकारको तयारी शून्य देखिएको काङ्ग्रेसको आरोप छ । लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरू, सार्वजनिक यातायातहरूमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन रहेको डा. महतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल सरकारले १ सय २० दिन लामो लकडाउन र सेमी लकडाउनको अवस्थालाई समाप्त गरी श्रावण ७ गते लकडाउन खोल्ने निर्णय गरेको थियो । यसै विषयलाई लिएर काङ्ग्रेसले पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराएको हो ।

डा. महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘मुलुकको अर्थतन्त्र, व्यवसाय, जनजीवनलाई सुचारु बनाउन आवश्यक भए पनि लकडाउन खुलाएपछि जनजीवनलाई व्यवस्थित, स्वास्थ्य सजगता र सुरक्षाका उपाय अबलम्बन गरेर मात्र नागरिक जीवनलाई सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा नेपाली कांग्रेसले सरकारलाई पटक–पटक सजग गराउँदै आएको छ । लकडाउनका कारण नेपालको आर्थिक, सामाजिक क्षेत्रमा देखिएको समस्याहरू कम गर्न यसले सहज गर्छ भन्ने कोणबाट आम जनजीवनले राहत महसुस गरे पनि बढ्दो संक्रमणको बीचमा खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने थप जोखिम तर्फ हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘तर सरकारले लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारु गर्ने तर्फ पर्याप्त ध्यान दिएन । अहिले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको छ । यसले नागरिक जीवनलाई थप असुरक्षित बनाउने जोखिम बढेको छ ।’

‘हामी पनि चाहन्छौं आर्थिक–सामाजिक जीवन सहज होस् र आर्थिक गतिविधि बढोस् तर साथसाथै संक्रमणको जोखिम घटोस् । त्यसकारण हामी निम्न लिखित विषयतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’

बुँदागत रूपमा काङ्ग्रेसले आफ्ना कुरा यसरी अघिसारेको छ–

(१) संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको छ । यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ ।

(२) लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु पिपीई (मास्क, स्यानीटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ सरकार गम्भीर देखिएन ।

(३) नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन । उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ ।

(४) सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मझ्यौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल गरेको छैन । अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्फ सरकारको पटक्कै ध्यान गएको छैन ।

(५) लकडाउन खोल्ने निर्णय गरेपछि आम नागरिकहरुलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चितता तर्फ सरकारले गम्भीर गृहकार्य गरेको देखिएन । हामी यसप्रति सम्पूर्ण तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौँ ।