पार्टी एकीकरण परिपक्व नहुँदै राप्रपामा पहिरो

पार्टी एकीकरण परिपक्व नहुँदै राप्रपामा पहिरो


हालै एकीकृत भई एकीकरणपछिका प्रक्रियाहरु पूरा गर्दै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पहिरो गएको छ । एकीकरण प्रक्रिया परिपक्व बन्न नपाउँदै पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा केन्द्रीय सदस्य विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाहलगायत रहेका छन् ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखापरेकाले राप्रपाबाट अलग हुनुपरेको उल्लिखित नेताहरुले संयुक्त राजीनामामा उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा भनिएको छ, ‘नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आम रुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ ।’

उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै थापालगायतका नेताहरुले आज (१० साउन) कै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन् ।

हेर्नुहोस् राप्रपा परित्याग गरेका नेताहरुको राजीनामापत्र जस्ताको तस्तै-
rpp Joint Resignation