‘बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?’

‘बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने धारणा अघिसारेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेकपा केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई शनिबार (१० साउन) बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ नदिने बताए ।

नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै नेता बाँस्कोटाले राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन आग्रह गरे । ‘वर्तमान सरकारले गणतन्त्रलाई स्थायित्व गरिरहेको सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?’– उनको प्रश्न थियो ।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गरे सबै समस्या हल हुँदै जाने भन्दै उनले भण्डारीको विचारलाई जनताको मनमनमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज आनन्द पोखरेलले फाउण्डेशनको कार्यक्रम गर्दा गुटबन्दी भयो भन्नेले प्रधानमन्त्री ओलीको राजीनामा मागी गुटबन्दी गरेको आरोप लगाए ।