सागका स्वर्णपदक विजेतालाई सभापति देउवाले सम्मान गर्ने

सागका स्वर्णपदक विजेतालाई सभापति देउवाले सम्मान गर्ने


नेपाली काङ्ग्रेस केन्द्रीय खेलकुद विभागले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्ने ८० जना खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

सम्मान कार्यक्रम नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा साउन १६ गते शुक्रबार आयोजना हुने विभागका सचिव मीनकृष्ण महर्जनले बताए । सो कार्यक्रमको मुख्य अतिथि नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेको महर्जनले जानकारी दिए । सभापति देउवाले विजयी खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

नेका खेलकुद विभागले १३औँ सागमा विजयी खेलाडीलाई नगद १० हजार र प्रशंसापत्रसहित सम्मान गर्नेछ । १३औँ सागमा नेपालले ५१ स्वर्ण जिते पनि विभागले सबै स्वर्ण जित्ने खेलाडीहरूलाई सम्मान गर्न लागेको हो ।

विभागले एकल प्रतिस्पर्धा र टिम प्रतिस्पर्धामा स्वर्णपदक जित्ने सम्पूर्ण खेलाडीहरूको समान मूल्याङ्कन गर्दै ८० जना स्वर्णधारी खेलाडीलाई नगद १० हजारसहित सम्मान गर्ने निर्णय गरेको हो । सम्पूर्ण स्वर्णपदक जित्ने खेलाडीहरूको महत्व र योगदान समान हुने भन्दै विभागलले यस्तो निर्णय गरेको खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले बताए ।

विभागले सागमा स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने घोषणा गत साता नै गरेको थियो । विभागको सोही निर्णयअनुरुप सागमा स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्न लागेको हो ।