आइपीएलको आयोजना १९ सेप्टेम्बरदेखि युएईमा हुने

आइपीएलको आयोजना १९ सेप्टेम्बरदेखि युएईमा हुने


इन्डियन प्रीमियर क्रिकेट लीग (आईपीएल)को २०२० को संस्करण संयुक्त अरब इमिरेटमा हुने भएको छ । उक्त कुरा आइपीएल सञ्चालक समितिका प्रमुख बृजेश पटेलले जानकारी गराएका छन् । प्रतियोगिता १९ सेप्टेम्बरमा शुभारम्भ भइ ८ अक्टोबरमा सम्पन्न हुनेछ । आईपीएलको यो संस्करण ५१ दिनसम्म चल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अक्टोवर नोभेम्बरमा आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता स्थगित गरेपछि आईपीएलको आयोजना सम्भव भएको प्रमुख पटेलले बताए । भारतमा कोरोना महामारीका कारण आइपीएलको आयोजना गर्न असम्भव भएपछि युएईमा आइपीएल गर्ने निर्णय भएको पनि पटेलले जानकारी गराएका छन् ।

प्रतियोगिताको सफल आयोजनाको लागि सञ्चालक समिति जुटिसकेको बताउँदै पटेल भने– ‘अब बीसीसीआईले आधिकारिक रूपमा युएई क्रिकेट बोर्डमा पत्राचार गरेपछि सबै कुराको टुङ्गो लाग्ने छ । प्रतियोगितामा खेलाडीको स्वास्थ्यको विशेष ख्याल गरिने छ ।’

युएईको वर्तमान स्वास्थ्य नियमअनुसार यदि कुनै खेलाडीले कोभिड–१९ परिक्षणको रिपोर्ट नेगेटिभ लिएर आएमा त्यो खेलाडीले क्वारेन्टाइनमा बस्नुपर्ने छैन । तर त्यस्तो प्रमाण नल्याएको खण्डमा त्यस्ता खेलाडीले प्रशिक्षण गराउनु पर्नेछ ।

दर्शकहरूले प्रत्यक्ष रूपमा आइपीएल हेर्न पाउने कुरामा अहिलेसम्म कुनै टुङ्गो लागेको छैन । सामाजिक दूरीको पालन गरेर दर्शकहरूलाई रङ्गशालामा ल्याउने चर्चा चले पनि जबसम्म युएई सरकारले यसको बारेमा ठोस निर्णय गर्दैन तबसम्म केही भन्न सक्ने अवस्था छैन । आईपीएल सञ्चालक समितिले यसको सम्पूर्ण अधिकार युएई सरकारमा भएको र उसैको निर्णयमा निर्भर भएको बताएको छ ।

आईपीएल युएईका तीनवटा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाहरु शेख जायद, आबुधाबी र शारजहाका मैदानमा आयोजना हुनेछ । त्यस्तै खेलाडीहरुको प्रशिक्षणको लागि छुट्टै मैदानको व्यवस्था गरिएको छ । बीसीसीआईका अनुसार आइसीसी एकेडेमीको मैदानलाई भाडामा लिने तयारी भैरहेको बुझिएको छ । आइसीसी एकेडेमीमा दुईवटा ठूला क्रिकेट मैदान रहेको छन् । जस्मा एयरकन्डिसन, फिजियो थेरापी र चिकित्सा सेन्टरको राम्रो ब्यवस्था छ ।

आईपीएलको आयोजना गत मार्चको अन्तिममा हुने कार्यक्रम थियो । तर कोरोना भाइरसका कारण भारतमा अनिश्चितकालीन प्रतिबन्ध लागेपछि प्रतियोगिता स्थगित गरिएको थियो । वर्तमान अवस्थामा पनि भारतमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएपछि सञ्चालक समितिले भारतबाहिर आईपीएल गर्ने निर्णय गरेको हो ।