राखेप सदस्यसचिवमा पुनः रमेश सिलवालको नियुक्ति

राखेप सदस्यसचिवमा पुनः रमेश सिलवालको नियुक्ति


राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त गरिएका छन् । मन्त्रिपरिषद्को सोमबार (१२ साउन) बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो ।

नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्यसचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनः नियुक्त भएका हुन् । राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त गरिएको हो । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । उनको पुनरनियुक्तिको सम्भावनाबारे पहिले नै अनुमान गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

उक्त पदका लागि २७ जनाले आवेदन दिनुभएका थिए । नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँच वटा मापदण्ड तोकिएको थियो । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।
सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त हुनुभएको थियो भने नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उहाँ पदमुक्त हुनुभएको थियो ।

त्यसैगरी बैठकले १३औँ दक्षिण एशियाली खेलकुद (साग)को प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गरेका शिव कोइरालालाई सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्ष नियुक्त गरेको छ । उपाध्यक्ष कोइरालाको कार्यकाल पनि चार वर्षकै रहेको बताइएको छ ।