सुनिल थापाको कांग्रेस प्रवेशले लोकतन्त्रवादी शक्ति बलियो हुने विमलेन्द्रको दाबी

सुनिल थापाको कांग्रेस प्रवेशले लोकतन्त्रवादी शक्ति बलियो हुने विमलेन्द्रको दाबी


पूर्वनिर्धारित कार्यक्रमबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा विधिवित रुपमा नेपाली कांग्रेस प्रवेश गरेका छन् । केही दिनअघि राप्रपा परित्याग गरेका उनका साथ सो पार्टीका एक दर्जनभन्दा बढी केन्द्रीय नेतासमेत कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार (१३ साउन) आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापासहितका नेतालाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे । राप्रपाका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई सभापति देउवाले कांग्रेस प्रवेशसँगै सहमहामन्त्रीको जिम्मेवारी प्रदान गरेका छन् । अब सुनिल थापा नेपाली कांग्रेसका उपल्लो तहका नेता बन्न पुगेका छन् ।

सो अवसरमा कांग्रेस सभापति देउवाले सबै लोकतन्त्रवादी शक्तिलाई एक गराउने अभियानमा कांग्रेस लागेको र यही अभियानअन्तर्गत सुनिल थापालगायत राप्रपाका नेताहरुलाई पार्टीमा स्वागत गरिएको जनाउँदै नवप्रवेशी नेताहरुलाई हीन भावना त्यागी सबैको अधिकार समान हो भन्ने भावनाले लोकतन्त्र प्रवर्द्धनका लागि काम गर्न आह्वान गरे ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चाहिँ सुनिलबहादुर थापा प्रतिगामी कित्तामा जान असहमत भई कांग्रेस प्रवेश गरेको तर्क गर्दै राजतन्त्र पुनःस्थापना गर्ने लक्ष्यले राप्रपा एकजुट भएको भन्दै आपत्ति प्रकट गरे । नवप्रवेशी नेताहरुलाई आफ्नै घरमा आएको सोचेर काम गर्न आह्वान गर्नुहुँदै उनले कम्युनिष्ट पार्टीलाई पनि लोकतान्त्रिक समाजवादको मूलधारमा हिँडाउनुपर्ने तर्र्क गरे ।

पार्टी उपसभापति विमलेन्द्र निधिले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको परिवारले पञ्चायती व्यवस्थामा पनि उदारवादी छवि बनाएको भनी प्रशंसा गर्दै सुनिल थापा कांग्रेस प्रवेश गरेपछि नेपालमा लोकतन्त्रवादी शक्ति बलियो हुने जिकिर गरे ।

नवप्रवेशी सुनल थापाले आफ्ना पिता पनि पहिले कांग्रेसमै रहेका प्रसङ्ग कोट्याउँदै कांग्रेस प्रवेशले आफूलाई अपार हर्ष र खुसी लागेको अनुभव सुनाए । यतिबेला लोकतन्त्रवादी शक्तिबीच वृहद् एकताको विकल्प नभएको तर यो विचारमा राप्रपा सहमत नभएपछि आफूहरु कांग्रेस प्रवेश गरेको उनले जानकारी दिए ।

कांग्रेस प्रवेश गर्नेमा थापासँगै धनकुटा राप्रपाका सबै तहका समिति रहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मोरङका राप्रपा नेता रामकृष्ण भट्टराई, पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, झापाका दिलीप राई, नुवाकोटका राज्यलक्ष्मी श्रेष्ठ, झापाकै चतुरमान विक, सर्लाहीका रामपदारत साह, भोजपुरका डा. सुरेश बस्नेत, रुपन्देहीका प्रतिमा राणा क्षत्री, भोजपुरका नारायण राउत, सिन्धुपाल्चोकका इन्द्रबहादुर राउतलगायत थापासँगै कांग्रेस प्रवेश गरेका छन् ।

pict:rss