गोकुलले दिए कडा चेतावनी

गोकुलले दिए कडा चेतावनी


केपी शर्मा ओलीको निकटतम व्यक्तिका रूपमा समेत चिनिएका नेकपाको युवा नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले ‘जसलाई मिल्न मन छैन उनीहरू पार्टी छोडेर जान सक्छन्’ भनी स्पष्ट गरिदिनुभएको छ । मदन भण्डारी फाउण्डेसन काभ्रेपलाञ्चोकद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै बास्कोटाले भन्नुभएको छ– ‘नेपालको इतिहासमा पहिलोपल्ट कम्युनिष्ट सरकार बनेको छ । यो सत्ता–कब्जाको बाटोबाट नभई जनमतबाट हो । माओवाद नेपालमा असफल भइसकेको छ र, जनताको बहुदलीय जनवाद नै नेपाली राजनीतिलाई नेतृत्व दिन सफल रहेको छ ।’

बास्कोटाको भनाई छ– ‘नेकपा हुने तर जनताको बहुदलीय जनवाद नचिन्ने भन्ने हुन सक्दैन ।’ सरकारमाथि हमला गर्ने गल्ती नगर्न चेतावनी दिँदै नेता बास्कोटाले भन्नुभएको छ– ‘झगडा गरेर बस्नुभन्दा छुट्टिनु राम्रो हुन्छ । अहिले उत्पन्न गराइएको झमेला पदका निम्ति हो, विचारको लडाइँ यो होइन । हरेक साल नयाँ पार्टी बनाउँदै हिँड्ने हो भने तिनलाई शुभकामना छ । कमाण्डर नबनेर कमण्डलु बोकी हिँड्ने रहर कसैलाई छ भने त्यसमा केही गर्न सकिंँदैन, तर हामी नेकपाको विभाजन हुन कदापि दिने छैनौँ । हिजोको माओवादी पार्टी पाँचवटा बनिसक्यो, कसलाई मिलेर बस्न मन छैन जाँदा हुन्छ ।’

करिब सत्र सयको सहभागिता रहेको समारोहमा केही माओवादी पक्षका भनिने व्यक्तिहरूको पनि उपस्थिति थियो । उक्त समारोहमा गोकुल बास्कोटाको अभिव्यक्ति सुन्नेहरूले केपी ओली आफ्नो अगाडिको यात्राबारे स्पष्ट रहेको महसूस गरेका थिए ।