गलकोटमा राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक स्थापना

गलकोटमा राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक स्थापना


बागलुङको गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति वडाकाजी अमरसिँह थापाको अर्धकदको शालिक स्थापना गरिएको छ ।

शालिकको शुक्रबार (१६ साउन) बगाले थापा क्षेत्री समाज धवलागिरिका अध्यक्ष भीमबहादुर थापा, त्रिभुवन विश्वविद्यालय सभा सदस्य प्राडा दीनबहादुर थापा र सात सय बगाले थापा समाज मल्म, गलकोटका अध्यक्ष दलबहादुर थापाले संयुक्त रूपमा अनावरण गर्नुभयो ।

राष्ट्रिय विभूति थापाको २०४औँ स्मृति दिवसका अवसरमा सात सय बगाले थापा समाजले शालिक स्थापना गरेको हो । सो अवसरमा बोल्दै बगाले थापा क्षेत्री समाज धवलागिरिका अध्यक्ष थापाले नेपालको एकीकरण र रक्षाका लागि अमरसिँह थापाको अतुलनीय योगदान रहेको बताउनुभयो ।

‘पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि अङ्ग्रेजसँगको लडाइँका सयौँ मोर्चामा अमरसिँह थापाले नेतृत्व गरे’, उहाँले भन्नुभयो, ‘उनीजस्ता वीरपुरुष नभएका भए सायद आज नेपालको अस्तित्व नरहन सक्थ्यो ।’

त्रिभुवन विश्वविद्यालय सभा सदस्य प्राडा थापाले अमरसिँह साझा राष्ट्रिय व्यक्तित्व भएको बताउनुभयो । उहाँले शालिक स्थापनाले राष्ट्रिय विभूतिको योगदानलाई चिरस्थायी बनाउने धारणा राख्नुभयो ।

सात सय बगाले थापा समाज मल्म, गलकोटका अध्यक्ष थापाले आफ्ना पूर्वजको सम्मानमा शालिक स्थापना गरिएको बताउनुभयो । निर्माणाधीन अवस्थामा रहेको अमरसिँह पदमार्गछेउ शालिक राखिएको हो ।

शालिकलगायत संरचना निर्माणमा झण्डै रु तीन लाख खर्च भएको निर्माण समितिका अध्यक्ष छुमबहादुर थापाले बताउनुभयो । शालिक निर्माणका लागि बगाले थापा समाज बेलायतबाट नगद रु एक लाख ७० हजार सहयोग प्राप्त भएको थियो ।

देशविदेशमा रहेका अन्य सहयोगदाताबाट समेत रकम जुटाएर शालिक बनाइएको हो । शालिक राख्ने स्थलका लागि मनकुमारी थापाले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । सानोखोला–बगाले थापा कूल मन्दिर हुँदै पर्यटकीयस्थल राम्चेढुङ्गा जोड्ने गरी अमरसिँह पदमार्ग निर्माणाधीन अवस्थामा छ ।

pict:rss