ऐतिहासिक पाँच सय विकेट लिने स्टुअर्ट विश्वका सातौँ बलर

ऐतिहासिक पाँच सय विकेट लिने स्टुअर्ट विश्वका सातौँ बलर


इङ्गल्याण्डका फास्ट बलर स्टुअर्ट ब्राड टेस्ट क्रिकेटमा कीर्तिमानी पाँच सय विकेट लिने विश्वका सातौँ खेलाडी बनेका छन् । त्यस्तै ब्राड इङ्गल्यान्डको तर्फबाट ५ सय विकेट लिने दोश्रो खेलाडी बनेका छन् । ब्राडले यो उपलब्धि हालै म्यानचेस्टरमा सम्पन्न वेष्टइन्डिजविरुद्धको तेस्रो टेष्टमा हासिल गरेका हुन् ।

इङ्गल्याण्डको तर्फबाट जेम्स एन्डसनले पहिलो पटक ५ सय विकेट लिएर आफ्नो नाममा कीर्तिमान कायम गरेका थिए । एन्डसनले यो उपलब्धि सन् २०१७ मा हासिल गरेका थिए । एन्डसनले ५ सय विकेट वष्टइन्डिजविरुद्धको खेलमै लिएका थिए । संयोग यस्तो कि ब्राडले पनि आफ्नो ५ सय विकेट वष्टइन्डिजका क्रेग ब्रेथवेटको विकेट लिएर पूरा गरेका थिए ।

टेष्ट क्रिकेटमा सबैभन्दा बढि विकेट श्रीलंकाका मुथैया मुरलीधरनले लिएका थिए । मुरलीधरनले ८ सय विकेट लिएर कीर्तिमान कायम गर्दै पहिलो स्थानमा रहेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेका अष्टे«लियाका शेन वार्नले ७ सय ८, तेस्रो स्थानमा रहेका भारतका अनिल कुम्बलेले ६ सय १६ विकेट लिएका छन् ।

यसैगरी अन्य ५ सयभन्दा माथि विकेट लिने खेलाडीहरूमा जेम्स एन्डसन (५८९), ग्लेन म्याग्रा (५६३) र कर्टनी वाल्स (५१९) रहेका छन् । वाल्स वष्टइन्डिजको तर्फबाट टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने पहिलो खेलाडी हुन् । हालै टेष्ट क्रिकेटमा ५ सय विकेट लिएर ऐतिहासिक उपलब्धि हासिल गर्ने स्टुअर्ट ब्राडले सन् २००७ मा श्रीलंकाविरुद्धको खेलमा डेब्यू गरेका थिए ।