ब्याडमिन्टनका महान् खेलाडी लीनद्वारा सन्यास

ब्याडमिन्टनका महान् खेलाडी लीनद्वारा सन्यास


ब्याडमिन्टन खेलका महान् खेलाडीको संज्ञा पाएका चीनका लीन डेनले सक्रिय खेल जीवनबाट सन्यास लिएका छन् । दुई पटक ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्न सफल लीनले आफ्नो दुई दशक लामो खेल जीवनबाट सन्यास लिएको हालै घोषणा गरेका हुन् । लीनको सन्याससँगै उनको दुई दशक लामो सुनौलो खेल जीवन पनि समाप्त भएको छ ।

३६ वर्षीय लीन खेल जीवनको उत्तराद्र्धमा आफ्नो उत्कृष्ट फर्मसँग सङ्घर्ष गरिरहेको थिए । बढ्दो उमेर लीनको लागि बाधक बन्दै गैरहेको थियो । यस्तो अवस्थामा उनी विश्व वरियताको पहिलो नम्वरबाट १९ नम्बरमा झरेका थिए । साथै जापानमा सन् २०२१ मा आयोजना हुने ओलम्पिकमा छनोट हुन उनलाई निकै गाह्रो भैरहेको थियो । किनकि उनकै सहकर्मी सी युकी र चेन लोङ उनको लागि चुनौती बनेका थिए । यस्तो चुनौतीको अवस्थामा लीनले सन्यासलाई नै आत्मसात गर्दै सक्रिय खेल जीवन टुङ्ग्याए ।

ओलम्पिक खेलकुदमा ब्याडमिन्टनको एकल प्रतिस्पर्धामा लगातार दुई पटक स्वर्ण पदक जित्ने लीन एक मात्र खेलाडी हुन् । लीनले सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा ब्याडमिन्टनको एकलतर्फ स्वर्ण पदक जितेका थिए । ब्याडमिन्टन खेलमा यस्तो उपलब्धि हासिल गरेर ओलम्पिकमा कीर्तिमान बनाउने लीन विश्वका एकमात्र खेलाडी हुन् ।

सन् २००० देखि २०२० सम्म दुई दशक आफ्नो राष्ट्र चीनबाट ब्याडमिन्टनमा सहभागिता जनाएका लीनले यो अवधिमा चारवटा ओलम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए । ‘यो उमेरमा चोटिलो हुनु मेरो लागि पीडादायी बन्यो, मलाई अगाडि खेल्न मेरो शरीरले दिएन, त्यसैले सन्यासको घोषणा गरे’– लीनले भने । यो दुई दशकको खेल जीवनको बारेमा भन्नुपर्दा म आफुलाई निकै भाग्यमानी ठानेको छु, तर राष्ट्रिय टीमवाट अलग्गिनुको पीडा कस्तो हुँदोरहेछ त्यो पनि भोगिरहेको छु । साँचो अर्थमा भन्नुपर्दा ज्यादै नरमाइलो लागिरहेको छ । अब बाँकी समय आफ्नो परिवारलाई समर्पित गर्नेछु । मैले मेरो खेल जीवनमा निकै उतार चढावको सामना गरेको छु, पराजयको पाठ सिक्दै, सङ्घर्ष गर्दै यो ठाउँमा पुगेको हुँ । त्यसैले म गर्वमा साथ भन्छु– ‘मेरो सफलतामा मेरो मेहनतसँगै भाग्यले पनि उत्तिकै साथ दिएको छ ।’

लीनले आफ्नो सक्रिय खेल जीवनमा दुईटा ओलम्पिक स्वर्ण पदकसँगै पाँच पटक विश्व च्याम्पियनसिपको उपाधि जितेका थिए । त्यस्तै, ६ पटक अल इङ्गल्याण्ड ओपन ब्याडमिन्टनको उपाधि पनि जितेका थिए । लीनले आफ्नो खेल जीवनमा कुल ६६६ अन्तर्राष्ट्रिय एकल उपाधि जितेर इतिहास रचेका छन् ।