प्रेमबहादुर सिंहको एउटा सङ्ग्रहणीय पुस्तक

प्रेमबहादुर सिंहको एउटा सङ्ग्रहणीय पुस्तक


संविधान जस्तोसुकै बनेको भए पनि त्यो संविधानसभामार्फत नै जारी गरिएको र, त्यस क्रममा ६०१ सभासदहरूले जोडदार ताली बजाउने अधिकार पाएको पाँच वर्ष बितेको छ । अनेक आकारप्रकारका प्राणीहरूको जमघट गराइएको उक्त संविधानमा केही यस्ता व्यक्तित्व पनि थिए जसलाई उच्च कोटिका बौद्धिक तथा कुशल राजनीतिज्ञका रूपमा उच्च सम्मान दिइन्छ ।

यस्तै कोटिका माननीय सभासदमध्ये एक हुनुहुन्थ्यो प्रेमबहादुर सिंह । अरुहरूभन्दा प्रेमबहादुर भिन्न हुनुहुन्छ भन्ने कुराको एउटा अर्को उदाहरण ‘संविधान निर्माण, घटना र अनुभूति’ नामक पुस्तकले पनि दिएको छ । प्रेमबहादुर सिंहले लेखन तथा सम्पादन गर्नुभएको ५९१ पृष्ठको पुस्तक यतिबेला बजारमा आएको छ ।

नेपाली इतिहासको एउटा विशिष्ट तथा दुर्लभ घटनाका रूपमा संविधानसभाको निर्वाचन तथा त्यसमार्फत संविधान जारी हुनुलाई लिइन्छ । नेता सिंहले पुस्तकमा संविधान निर्माण प्रक्रियाका क्रममा भएका हरेक महत्वपूर्ण घटनालाई पुस्तकमा समेट्नुभएको छ । पुस्तकमा माओवादीसँग भारतको राजधानी नयाँ दिल्लीमा भएको १२बुँदे समझदारीको पूर्ण विवरणदेखि संविधानसभाको गठनपश्चात भएका विभिन्न आन्दोलनका घटनाहरू समेटिएका छन् । पहिलो र दोस्रो संविधानसभाभित्र र बाहिर भएका हरेक घटना समावेश गरिएका कारण यो पुस्तक हरेक नेपालीका निम्ति सङ्ग्रहणीय बनेको छ ।

पुस्तकमा सुशासन र विकास सन्दर्भ पनि उल्लिखित छन् । तत्कालिक अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाभियोग प्रस्तावलगायतका विषय समाविष्ट पुस्तकमा लेखकले आफ्ना केही अनुभूति र राजनीतिक उतारचढावका बारेमा पनि केही शब्दहरू खर्च गर्नुभएको छ ।

थम्सन प्रेस, हरियाणा भारतमा छापिएको यस पुस्तकको प्रकाशक लेखक स्वयम् हुनुहुन्छ । इतिहासको एउटा कालखण्डबारे विस्तृत जानकारी राख्न चाहनेहरूका निम्ति उपयोगी पुस्तक ‘संविधान निर्माण घटना र अनुभूति’ लेखेर प्रेमबहादुर सिंहले नेपालको इतिहासलाई पनि गुन लगाउनु भएको छ ।