एकता खोज्नेलाई नेताको गाली !

एकता खोज्नेलाई नेताको गाली !


नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले पार्टी एकताको रक्षाका निम्ति हस्ताक्षर अभियान सञ्चालन गरेपछि हस्ताक्षर गर्ने मध्येका केही सांसदलाई प्रचण्ड र माधवकुमार नेपालले हप्काएको समाचार घटना र विचारलाई प्राप्त भएको छ ।

प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको राजीनामा माग्दै प्रचण्ड र माधव नेपालले केपीविरुद्ध अभियान चलाएको, उच्च तहमा भएका शीर्ष नेताहरूको अनेकौँ चरणका बैठकहरूले कुनै परिणाम दिन नसकेको र पार्टीभित्र दुई कित्ता स्पष्ट रूपले छुट्टिन थालेकोले एकथरी सांसदहरूले एकताका पक्षमा हस्ताक्षर अभियान चलाएका हुन् । विशाल भट्टराईलगायतका सांसदहरूको सक्रियतामा शुरु भएको हस्ताक्षर अभियानमा अहिलेसम्म साठीभन्दा बढीले सहभागिता जनाइसकेका छन् ।

सांसदहरूले वामदेव गौतमद्वारा एकताको लागि प्रस्तुत ६ बूँदे प्रस्तावलाई समर्थन गरेका छन् र, तिनै बुँदाहरूलाई आधार बनाएर पार्टीमा एकता बहाल गर्न सकिने धारणा उनीहरूको छ । यसरी एकताको पक्षमा सही गर्नेहरूमा केपी, माधव र प्रचण्ड तीनै नेताका कतिपय समर्थकहरू रहेका छन् ।

यसरी एकताका पक्षमा सांसदहरूले सही गरेपछि माधव नेपाल र प्रचण्डले आ–आफ्ना निकटका व्यक्तिहरूलाई हप्काएका छन् । माधव नेपालले रामकुमारी झाँक्री र गणेश पहाडी तथा प्रचण्डले अमनलाल मोदीलगायतका सांसदहरूलाई एकताको पक्षमा भएको हस्ताक्षर अभियानमा किन सहभागिता जनाएको भन्दै गाली गरेको बुझिएको छ ।

एकताका लागि दबाब दिन शुरु भएको हस्ताक्षर अभियानले पार्टी एकताबद्ध तुल्याउन बल पुऱ्याउने भए पनि यसले राजनीतिक रूपमा केपीलाई लाभ पुऱ्याउने भएपछि प्रचण्ड र माधवले सांसदहरूलाई गाली गरेको बताइएको छ ।