पर्वतमा बीपी स्मृति भवन निर्माणका लागि युरोपबाट सहयोग जुट्दै

पर्वतमा बीपी स्मृति भवन निर्माणका लागि युरोपबाट सहयोग जुट्दै


■ सागर सुवेदी, अष्ट्रिया

जनसम्पर्क समिति (युरोप)का वर्तमान सभापति एवम् पूर्वसभापतिहरु सम्मिलित एक भर्चुअल बैठक आइतबार (१६ अगस्ट) सम्पन्न भएको छ ।

उक्त बैठकको आयोजना मूलतः पर्वतमा बीपी स्मृति भवन (नेपाली कांग्रेसको पार्टी कार्यालय) निर्माणको लागि सहयोग जुटाउने हेतुले युरोप क्षेत्रलाई लक्षित गरेर बनाइएको समितिको थियो। बेल्जियम निवसी जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति सुभास जोशीको संयोजनमा गठित समितिमा युरोपमा अवस्थित जनसम्पर्क समितिमा आवद्ध व्यक्तिहरुका साथै पर्वत जन्मथलो भइ युरोपमा बसोबास एवम् ब्यवसाय गरिरहेका कांग्रेसनिकट व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रमलार्इ पर्वत कांग्रेसका पूर्वसभापति, वर्तमान केन्द्रिय सदस्य तथा स्थानीय तह विभागका संयोजक अर्जुन जोशीका साथै नेपाली कांग्रेस पर्वतका वर्तमान सभापति खिमप्रसाद भुसालले सम्बोधन गर्नुभएको थियो भने युरोपस्थित जनसम्पर्क समितिमा आबद्ध कांग्रेस कार्यकर्ताहरुले आ–आफ्ना विचार राख्नुभएको थियो ।

सो भर्चुअल बैठकमा मन्तव्य दिँदै गैरआवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा वर्तमान १९–२१ कार्यसमितिका अध्यक्षका प्रतिष्पर्धी कुल आचार्यले यतिबेला आफूहरु नेपाल छोडेर विभिन्न विचार समूहका साथै व्यापार ब्यवसायमा रहे पनि बीपी तथा कुनै विचार समुहका राष्ट्रिय व्यक्तित्वका नाममा स्थापना हुने हरेक क्रियाकलापमा आफ्नो सहयोग रहने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘वर्तमान अवस्थामा मेरो विचार वा आस्था जे–जता भए पनि विचारभन्दा माथि उठेर समग्र गैरआवासीय नेपालीहरुको प्रतिनिधि गर्ने भएको कारण मलाई एक विचार समूहबाट मात्र नहेरिदिनु होला ।’ उहाँले बीपी स्मृति भवन निर्माणका लागि आफ्नो तर्फबाट पाँच लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै नेपाल या विदेश जहाँ भए पनि हरेक विचार समूहमा आवद्ध व्यक्तिहरुले निष्ठाको राजनीति गर्दै समाजसेवामा होमिन सके मात्र गैरआवासीय नेपालीहरुले राष्ट्र निर्माणमा सहयोग गरेको भन्न सकिने धारणा प्र्कट गर्नुभयो ।

पुराना कांग्रेस नेता जर्मननिवासी दिल गुरुङले नेपाली कांग्रेसका नाममा उहाँलाई कहिलेकाहीँ जोडेर विवादित बनाएकोमा आपत्ति ब्यक्त गर्दै सबै एकजुट बनेर कांग्रेस अघि बढे मात्र कांग्रेसको भविष्य हुने, साथै आफू कुनै पदको भोको नभएको तर आगामी पुस्तालाई नेतृत्व निर्माण गर्न मद्धत मात्र गरिरहेको तर कांग्रेसमा जसरी अहिले जतासुकै विवाद भैरहेको छ यस्तै रवैया जारी रहने हो भने धेरै लामो यात्रा तय गर्न नसकिने जिकिर गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसस बेल्जियम सभापति श्रीमती सीता सापकोटाले नेपाली कांग्रेसको विवाद केन्द्र जिल्ला हुँदै विदेशस्थित जनसम्पर्क समितिसम्म आउनु दुःखद भएको उल्लेख गर्दै कांग्रेसका पुराना अभिभावक नेता, अग्रज व्यक्तित्व दिल गुरुङ जस्ता आदरणीय निष्ठावान कांग्रेसको सिपाहीलाई माध्यम बनाई केन्द्रमा गलत प्रक्रियाबाट उजुरी हालिनु समग्र विचारको लागि घातक भएको र कसैको लहैलहैमा नलागी बिपीले देखाउनुभएको सिद्धान्त, गणेशमानले देखाउनुभएको त्याग तथा कृष्णप्रसाद भट्टराईले देखाउनुभएको निष्ठालाई अंगाल्न सके मात्र कांग्रेस सदैव अग्रपंक्तिमा रहने अन्यथा समग्र पार्टी तथा अभियानमा नै धक्का पुग्ने भन्द आफूबाट बिपी स्मृति भवनका लागि पचास हजार पाँच सय एकाउन्न रुपैयाँ सहयोग गर्ने जानकारी दिनुभयो ।

कार्यक्रमको सूचनाका लागि तयार गरिएको ग्रुपमा जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति इन्द्र छेत्रीलाई पनि राखिएको थियो तर उहाले त्यहाँ जबसम्म शेरबहादुर देउवाजस्ता व्यक्ति नेपाली कांग्रेसको नेतृत्वमा रहन्छन् तबसम्म नेपाली कांग्रेसका कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुन नसकिने आशयको अभिव्यक्ति दिनुभएको भन्ने सूचनाका अधारमा घटना र विचारले इन्द्र क्षत्रीसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको बाहौँ महधिवेशनदेखि लिएर आसन्न चौधौँ महाधिवेशनको दौरानमा नेपाली कांग्रेसको विधान र नेपालको संविधानमा कुनै पनि परिवर्तन नभएको, नेपाली पार्टी विचार निर्देशित नभएर व्यक्तिनिर्देशित बनेको, विभिन्न बाध्यात्मक अवस्थामा विदेशी नागरिकता धारण गरेका नेपाली कांग्रेसका पुराना कृयाशील सदस्यहरूलाई यसपल्ट कृयाशील सदस्यता नदिने भन्ने विषयमा मेरो बिमति छ, यसलाई म कांग्रेस केन्द्रिय केही नेताको पूर्वाग्रह भन्छु । यस बीचमा बसेका महासमिति बैठकहरूले पनि पुरानो व्यवस्थालाइ कुनै संशोधन गरेको छैन । नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई पनि नेपाली नागरिकता दिने थप व्यवस्था गरेको सन्दर्भमा नेपाली कांग्रेसले कृयाशील सदस्यताबाट वञ्चीत गर्नुमा सँस्थापनको निकृष्ट स्वार्थले काम गरेको छ । उपसभापति नीधिलगायत विभिन्न केन्द्रिय नेताहरूको विदेश भ्रमणबाट नेपाली कांग्रेसको वर्तमान सँस्थापन पक्ष विदेशबाट आफ्नो पक्षमा जनमत नरहेको निष्कर्षमा पुगेको छ । जसरी नेपालमा चुनावलाई प्रभावित गर्ने हेतुले अवैधानिक नियुक्तिहरू भैरहेका छन् त्यसैको पेरिफेरिमा गैरआवासीय कांग्रेसहरूलाई सदस्यताविहीन बनाउने कुरालाई हेरिनुपर्छ भन्ने मेरो भनाइ छ ।’

उहाँले अगाडि भन्नुभयो– ‘विदेशस्थित जनसम्पर्क समितिहरूलाई यस कार्यकालमा जति गिजोल्ने काम इतिहासमा कहिल्यै भएको थिएन । पक्षधरता हेरेर निर्वाचित समितिहरूलाई वर्खास्त गर्ने, कार्यकाल सकिएकालाई थमौती दिने र केन्द्रले नै विद्रोही पक्षलाई उचालेर संगठन फोर्नेसम्मका काम हुनु पार्टीका लागि लज्जाको विषय भएको मेरो बुझाई छ । यति गरेर पनि नपुगेर अनुशासन लगाई विरोधीहरूको विनाश गर्ने काम गरिनु भनेको नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा गम्भीर कुरा हो । केन्द्रिय निर्वाचन समिति पनि एकपक्षीय भएको छ । अवैध नियुक्ति र मनोनयनहरूलाई स्विकृति दिएर निर्वाचन समितिले आफ्नो पक्षधरता देखाएको छ । कांग्रेसको आगामी महाधिवेशन नितान्त कर्मकाण्डी हुने कुरामा कुनै दुविधा रहेको छैन भन्ने मेरो बुझाई छ ।’

यति मात्र नभई उहाँले आवश्यक परे निर्वाचन समितिले शेरबहादुर गूटको नाम टाँसेर हिँड्न सक्नेसम्मको सम्भावना औंल्याउनुभयो । कांग्रेसलाई रसातलमा पुऱ्याएर देश दुनियाँमा हास्यपात्र बनेका वर्तमान सभापतिका कृत्यहरूको विरोधस्वरूप उहाँ सभापतिको रूपमा रहेसम्म कांग्रेसका गतिविधि गर्दा निजलाई नै प्रोत्साहन हुने ठहर गर्दै देउवा पदबाट नहटेसम्मको लागि निस्कृय रहने निर्णयमा पुगेको उहाँको निचोड थियो । यसो भन्दैमा आफू बिपीको विचारबाट कदापि बिचलित नहुने अठोट पनि क्षत्रीले व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनसम्पर्क समिति नेदरल्याण्डका पूर्वसभापति मनोहरि शर्माले पार्टी केन्द्रिय नेतृत्वमा रहेका व्यक्तिहरुले समग्र विचारका आधारमा निर्णय गर्ने भन्दा पनि व्यक्तिगत सम्बन्ध तथा रोइकराइका आधारमा निर्देशन तथा आदेश दिइरहेको आरोप लगाउँदै यसबाट पार्टीलाई कालान्तारसम्म नै धक्का पुग्नेतर्फ सजग गराउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय स्तरका नेताहरुले विदेशस्थित शुभेच्छक संस्थाहरुमा भद्रगोल बनाउँदा आफुलाई कति हानि हुने भन्ने मानेमा मुल्यांकन गर्न सके मात्र बिपीको नामको महत्व हुनेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । पर्वतमा बन्दै गरेको बीपी स्मृति भवनमा आफ्नो हैसियतले सक्ने सहयोग हुने प्रतिबद्धता उहाँको रह्यो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस स्थानीय तह समन्वय विभाग प्रमुख अर्जुनप्रसाद जोशीले महामानव बिपीको नामबाट बन्दै गरेको भवन आगामी पुस्ताका युवाको प्रेरणाको घर हुनुका साथै वैचारिक आश्रयस्थल बन्ने दाबी गर्नुभयो । नेपालकै नमुना तथा आधुनिक प्रविधि सुहाउँदो पार्टी कार्यालय बनाइने तथा सहयोग गरेका सहयोग दाताहरुको सम्मानस्वरुप विभिन्न कार्यकक्षहरुको नाम दाताकै नामबाट राखिने जानकारी उहाँले दिनुभयो ।

पर्वत कांग्रेसका सभापति खिमप्रसाद भुसालले पार्टी कार्यालय निर्माणको वर्तमान अवस्था, प्रगति विवरण साथै आगामी दिनमा कांग्रेसले लिनुपर्ने बाटोको बारेमा संक्षिप्त चर्चा गर्नुभएको थियो ।

पर्बत समाज बेल्जियमका अध्यक्ष झलक केसी तथा स्पेन निवासी इन्द्र शर्माले संयुक्त रुपमा संचालन गर्नुभएको कार्यक्रममा जसस पूर्वसभापति यामलाल सुवेदी (डेनमार्क), नेविसंघका पूर्व नेता तथा हालका गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका संयोजक नारायण आचार्य, जसस पूर्व सभापति गुणराज शर्मा (स्वीजरल्याण्ड), सन्तोष श्रेष्ठ (स्पेन), दीपिका भुसाल (इजरायल), सुधीर राना (फ्रान्स), विराट जोशी (बेल्जियम), सुवर्णविक्रम हमाल (फ्रान्स), जससका पूर्वसभापति शालिकराम डुम्रे (स्पेन), हितकाजी गुरुङ (बेलायत), स्विडेनका पूर्व एनआरएनए अध्यक्ष एवम् हालका आइसीसी अर्जुन श्रेष्ठलगायतले बीपी स्मृति भवनलाई सहयोग गर्ने बारेमा ऐक्यबद्धताका साथै नेपाली कांग्रेसको केन्द्र तथा विभिन्न जनसम्पर्क समितिमा भएका विवाद समाधानका विषयमा केन्द्रले परिपक्क र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

बीपी स्मृति भवन निर्माण समिति युरोप क्षेत्रका संयोजक सुभाश जोशीले युरोप क्षेत्रमा रहेका आस्थावान साथीहरु एवम् शुभचिन्तकबाट उठेको चन्दा रकम पारदर्शी रुपमा नेपाल पठाइने र आफ्नो समितिले विभिन्न देशमा रहेका शुभचिन्तक साथीहरुसँग सहकार्य गर्दै पर्वतमा निर्माणाधीन बीपी स्मृति भवन निर्माणमा सहकार्य गर्ने बताउनुभयो।