गोकुलको सभा रोक्न नेकपाकै नेताको उर्दी !

गोकुलको सभा रोक्न नेकपाकै नेताको उर्दी !


एक समय गाउँ विकास समितिको वडाअध्यक्ष रहेका आफ्ना एक कार्यकर्तालाई काङ्ग्रेसमा प्रवेश गराएको बदलामा गोकुल बास्कोटाले काङ्ग्रेसका उनान्सय क्रियाशील सदस्यलाई नेकपा प्रवेश गराएको समाचार प्राप्त भएको छ ।

काभ्रेको रमणीय पर्यटक स्थल बल्थलीका एक कार्यकर्तालाई काङ्ग्रेस जिल्ला सभापति मधु आचार्यले पार्टीमा प्रवेश गराइकन निजलाई शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायतका नेताहरूसँग भेट गराएको भन्ने विषय काभ्रेमा चर्चाको विषय बनेको थियो । त्यसको केही दिनपछि साउनको अन्तिम शनिबार बल्थलीमै एक सार्वजनिक समारोहको आयोजना गरी गोकुलले दुई सयभन्दा बढि काङ्ग्रेससमर्थकलाई नेकपामा प्रवेश गराएको जानकारीमा आएको छ । तीमध्ये उनान्सय जनाचाहिँ क्रियाशील सदस्य भएको बुझिएको छ ।

गत साउन ३१ गते शनिबार गोकुल बास्कोटाले भेला आयोजना गरेको जानकारी पाएपछि नेकपाकै जिल्लाअध्यक्ष रुकु चौलागाईं र सचिव टोकबहादुर वाइबाले एक विज्ञप्ति जारी गरी कसैले पनि सभा–सम्मेलन नगर्न र गरेमा सहभागिता नजनाउन आफ्ना पार्टी कार्यकर्ताहरूलाई आह्वान गरेका थिए ।

त्यस्तै, सोही शनिबार बिहान काङ्ग्रेसको बल्थली वडा समितिले पनि वक्तव्य जारी गरी उक्त भेला रोक्न आह्वान गर्दै जनतालाई सहभागिता नजनाउन माग गरेको थियो । यसरी नेकपाको जिल्ला अध्यक्ष, सचिव र काङ्ग्रेसको वडा समितिले गरेको आह्वान अस्वीकार गर्दै करिव साढे चार सय मानिस कार्यक्रममा सहभागिता जनाउन पुगेका थिए ।

समारोहमा मूख्य अतिथि बनेका गोकुलले जिल्लामा आफ्नो अग्रसरतामा भएका विकास–निर्माणका कार्यको विवरण प्रस्तुत गर्दै ‘जबज’लाई सबैले आत्मसात गर्नुपर्ने धारणा राखेका थिए । बास्कोटाले अब कसैले पनि खुला प्रतिस्पर्धाको अवधारणालाई चुनौती दिन नसक्ने स्पष्ट गर्दै यही विचार मार्गमा आउन सबै कम्युनिष्टहरू तयार हुनुपर्ने बताएका थिए । यस घटनाले बल्थलीमा काङ्ग्रेसलाई त क्षति पुऱ्याएकै छ, नेकपाका जिल्लाअध्यक्ष र सचिवसमेत ‘एक्स्पोज्ड’ भएको ठानिएको छ ।