देउवालाई हराउनकै निम्ति अघि सारिँदै निधि

देउवालाई हराउनकै निम्ति अघि सारिँदै निधि


आफ्नो गुटको एकलौटी नेता बनेका शेरबहादुर देउवा विमलेन्द्र निधिका कारण ठूलो सकसमा परेका छन् । चौधौँ महाधिवेशन तोकिएको मिति फागुनमा हुने अनिश्चित भए पनि निधिले सभापतिमा उम्मेदवारी दिने निश्चित भएको छ । केही साताअघि निधिले महामन्त्री डा. शशाङ्क कोइरालासँग भेट गरी आफूलाई सभापतिमा समर्थन गर्न माग गर्दा त्यसबेला गम्भीरतापूर्वक लिइएको थिएन । यसलाई देउवाको कुनै चालको रूपमा हेरिएको थियो । तर देउवालाई नै भेटेर सभापतिको उम्मेदवार बन्ने जानकारी गराएपछि निधि साँच्चै अगाडि सरेको ठानिएको छ ।

निधि यसरी अचानक सभापतिको उम्मेदवार बन्न अग्रसर हुनुका पछाडि विभिन्न कारण रहेको पाइएको छ । त्यसको पहिलो कारण काङ्ग्रेसको परिमार्जित विधानलाई मानिएको छ । पहिले उपसभापति र महामन्त्री जस्ता पदमा मनोनयनद्वारा पूर्ति गरिन्थ्यो, परिमार्जित विधानअनुसार उपसभापति र महामन्त्री जस्ता पदहरूमा पनि निर्वाचनका माध्यमबाट मात्र चयन हुन सक्नेछ । विमलेन्द्र निधि काङ्ग्रेसभित्र एक साम्प्रदायिक र अति चतुर व्यक्तिका रूपमा चिनिन्छन् । निधिका बारेमा सुशील कोइरालाको टिप्पणी हुने गथ्र्यो– ‘काङ्ग्रेसभित्र सबैभन्दा खतरनाक मानिस विमलेन्द्र निधि हुन् ।’ सुशील कोइरालाले धेरै पहिले नै खतरनाक भनेर चिनेको भए पनि शेरबहादुर देउवाले चाहिँ अहिले आएर चिनेका छन् ।

देउवा गुटबाट अरु कसैले उम्मेदवारी नदिएको अवस्थामा सभापति पदमा पुनः देउवाकै विजय हुने विश्वास गरिन्थ्यो । निधिको उम्मेदवारीले देउवाको मात्र मत काट्ने भएकोले देउवालाई पराजित गराउनका निमित्त नै देशबाहिरबाट अघि सारिएको पात्रका रूपमा निधिलाई हेरिएको छ । तर सभापतिमै उम्मेदवारी दिनुपर्ने निधिका आफ्नै बाध्यता पनि छन् । काङ्ग्रेसभित्र सबैभन्दा अलोकप्रिय मानिएका निधि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिए पनि विजयी बन्न सक्ने अवस्थामा छैनन् । खुला प्रतिष्पर्धाबाट केन्द्रिय सदस्यभन्दा माथिका कुनै पनि पदमा विजयी बन्न नसक्ने भएकोले ‘पराजित नै हुनुपर्छ भने सभापतिमै उठेर पराजित किन नहुने’ भन्ने निचोडमा निधि पुगेका हुन् ।

यसरी उम्मेदवारी दिँदा २ नम्बर प्रदेशका करिव नौ सय महाधिवेशन प्रतिनिधिमध्ये आधिभन्दा बढिले आफूलाई मतदान गर्ने विश्वासमा उनी रहेको बताइन्छ । मधेशमा कायस्थप्रति अलिक भिन्न दृष्टिकोण रहेकोले निधिलाई धेरै मत नजाने ठानिन्छ । तर जति मत उनले प्राप्त गर्छन् त्यो देउवालाई पराजित गर्न पर्याप्त हुने विश्वास गरिन्छ । नेपालबाहिरका शक्तिहरू काङ्ग्रेसमा देउवालाई सहयोग नगर्ने, बरु कोइरालाहरू मध्ये कसैलाई सभापति बनाउने पक्षमा रहेको बुझिन्छ । डा. शेखर कोइराला या डा. शशाङ्क कोइराला, जसलाई सभापति बनाउनु परे पनि देउवाको पराजय निश्चित तुल्याउनुपर्ने हुन्छ, त्यसनिम्ति विमलेन्द्र सबैभन्दा उपयुक्त व्यक्ति ठानिएका हुन् र, अगाडि सारिएका छन् ।

यसरी देउवालाई पराजित गर्न विमलेन्द्र अघि सारिएपछि सिथिल भइसकेका रामचन्द्र पौडेल र डा. शशाङ्क कोइरालासमेत सभापतिमा उम्मेदवारी दिन कस्सिएका छन् । उता कृष्ण सिटौला र गगन थापाहरू पनि सभापतिमा उम्मेदवारी दिने तयारी गर्दैछन् । काङ्ग्रेसको महाधिवेशनमा देउवाका अतिरिक्त थप कम्तिमा पाँच जनाले सभापतिमा उम्मेदवारी दिने सम्भावना देखिएको छ । जति जना उम्मेदवार भए पनि डा. शेखर र शेरबहादुर देउवाकाबीच नै मूख्य प्रतिष्पर्धा हुने अहिलेसम्मको अवस्था छ । विमलेन्द्र उम्मेदवार बनेको स्थितिमा पहिलो चरणकै निर्वाचनबाट शेखरले बाजी मारे भने कुनै आश्चर्य हुने छैन । तर, गगन थापाले समेत उम्मेदवारी दिएको अवस्थामा भने परिणाममा अन्तर आउन सक्ने प्रबल सम्भावना छ ।