रसियाली नेता नाभाल्नीको शरीरमा खतरनाक पदार्थ भेटिएको खुलासा

रसियाली नेता नाभाल्नीको शरीरमा खतरनाक पदार्थ भेटिएको खुलासा


रसियाली चिकित्सकहरुले साइबेरियाली शहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन् ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता नाभाल्नी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा रहेका छन् ।

साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कने क्रममा विमानमा असहज महशुस गरेका ४४ वर्षीय नाभाल्नीलाई बिहीबार (२० अगस्त) आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई विमानमा विषाक्त वस्तु मिसाएर चिया खुवाइएको विपक्षीहरुको आरोप छ । विमानमा चिया पिएलगत्तै असहज महशुस गरेका नाभाल्नी त्यसयता बेहोस छन् ।

नाभाल्नीकी प्रवक्ता किरा यारमिसले ट्वीट गर्दै भनेका छन्, ‘अस्पतालका प्रमुख चिकित्सकले नाभाल्नीलाई स्वास्थ्य स्थिति कमजोर भएकाले अन्यत्र पठाउन नसकिने बताउनुभएको छ । उहाँको अवस्था अस्थिर छ । परिवारका सदस्यले अन्यत्र लैजान गरेको अनुरोध स्वीकार गर्न सकिँदैन ।’

नाभाल्नीको टोलीका सदस्यहरुले नाभाल्नीलाई जर्मनी लैजान ओम्स्क बिमानस्थलमा एउटा विमान तयारी अवस्थामा राखिएको बताएका छन् । ओम्स्क शहर जर्मनीको शहरबाट करिब ४ हजार २०० किलोमिटर टाढा छ र यहाँबाट बिमानमा ६ घण्टा लाग्छ ।

नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका छन् । तर अधिकारीहरुले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन् । स्थानीय प्रहरीले फरेन्सिक परीक्षण जारी रहेकाले अहिल्यै केही बताउन नसकिने जनाएको छ ।

ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताएका छन् । तर नाभाल्नीलाई अहिल्यै अन्य अस्पताल पठाउन जोखिम छ, उनले भनेका छन् ।

यो पनि हेर्नुहोस्-
रुसी सरकारका आलोचक नाभाल्नी शंकास्पद रुपमा अस्पताल भर्ना