देशका कतिपय स्थानमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुनेर आफूलाई दुःख लागेको नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आइतबार एक अपिल जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि तीनवटै तहका सरकारलाई उनले सजग गराएका छन् ।
सभापति देउवाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको युद्ध सिङ्गो संसारले स्वास्थ्यकर्मीको नेतृत्वमा लडिरहेको र आफू तथा आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीकको मनोबल उच्च राख्नु सबैको अभिभारा भएको उल्लेख गरेका छन्। यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न उनले सबैसँग आग्रह गरेका छन् ।
सभापति देउवाले आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निभाइरहेका सञ्चारकर्मी एवम् गाउँ–शहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाइकर्मीलाई हृदयदेखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सह्राहना गरेका छन् ।
मुलुकका कयौँ भागमा बन्दाबन्दी र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको र कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल समयमा सभापति देउवाले सबैलाई संयम र एकता साथ परिस्थिति सामना गर्न अपील गरेका छन् ।
प्रतिकूल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’मा रहेर उच्च मनोबलले कार्य गरिरहेकोप्रति प्रशंसा गर्दै उनले अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुऱ्याउन सरकारलाई पनि आग्रह गरेका छन् ।
बन्दाबन्दी र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढङ्गले व्यवस्थित गर्न सरकारसँग अपील गर्दै सभापति देउवाले पीसिआर परीक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पुऱ्याउन माग गरेका छन् । कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न र स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न अनि मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारसँग आग्रह गरेका छन् ।
साथै, लाखौंको सङ्ख्यामा बिदेशमा रहेका नेपाली नागरिकलाई कोरोना सङ्क्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन अपील गर्दै सभापति देउवाले नेपाली जनसम्पर्क समिति तथा देश बाहिर रहेका सबै सङ्घसंस्था र नेपाली दूतावासलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीको हितमा ऐक्यवद्ध ढंगले कार्य गर्न आग्रह गरेका छन् ।
विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहने नेपालीलाई उद्वार गर्न कांग्रेसले शुरुआतदेखि नै माग गर्दै आएको उल्लेख गर्दै उनले नीति र ब्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडामाथि पीडा थपिएको आरोपसमेत लगाएका छन् ।
प्रतिक्रिया