स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही माग

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही माग


राष्ट्रिय जनमोर्चाले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी कोरोना रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सकारात्मक मान्दै यसमा सबैको साथ र समर्थन आवश्यक हुने भएकाले चिकित्सकमाथिको दुर्व्यवहारको विरोध गरेका हुन् । हाल विभिन्न ठाउँमा चिकित्सकमाथि दुर्व्यवहारका समाचार आइरहेको छन् ।

‘स्वास्थ्यकर्मीलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुर्व्यवहार गर्ने कुरा सही होइन । त्यसको हामी विरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारको व्यवहार गर्नेलाई कारबाही हुनुपर्दछ । स्वास्थ्यकर्मीलाई त्यस प्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि उनीहरुको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौँ ।’

विज्ञप्तिमा मुलुकको राष्ट्रिय झण्डा जलाएर साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेलाई पनि कारबाहीको माग गरिएको छ ।