कीर्तिमानी खेलाडी चन्द्रकलामाथि छिमेकीद्वारा निर्घात कुटपिट

कीर्तिमानी खेलाडी चन्द्रकलामाथि छिमेकीद्वारा निर्घात कुटपिट


एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरिएको छ । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले एक विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

चन्द्रकलालाई सोमबार राति झापाको मेचीनगर नगरपालिकाको चारआलीमा छिमेकीले आक्रमण गरेका थिए । कुटाईबाट उनी सख्त घाइते भएकी छिन् । गर्भवती अवस्थामा रहेकी लामगादेको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल पुलिस क्लबमा आवद्ध चन्द्रकला कोरोना महामारीका कारण गत चैतमा लकडाउन हुनुअघि झापा गएकी थिइन् ।

यसैबीच नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहीले लामगादेको उपचारका लागि रु २१ हजार सहयोग गरेका छन् । अध्यक्ष शाहीका अनुसार चन्द्रकलालाई कुटपिट गर्नेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरेको छ ।

एथलेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकूद र प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदमा सटपुट र ज्याभलिनथ्रोमा स्वर्ण पदक जितेकी थिइन् । उनको नाममा आठौँ राष्ट्रिय खेलकूदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटर तथा ज्याभलिनथ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ ।