शिक्षक अपहरण गरेको अवस्थामा प्रतिबन्धित नेकपाका कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ

शिक्षक अपहरण गरेको अवस्थामा प्रतिबन्धित नेकपाका कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ


जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासम्बद्ध एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको बाहुनतिल्पुङ भन्ने स्थानबाट शिक्षकलाई अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । ती महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।

तीनपाटन गाउँपालिकाको वडा नं ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई ती महिलासहित ११ जनाको एक समूहले नियन्त्रणमा लिई झण्डै दुई घण्टा हिँडाएर लायोगाउँसम्म पु¥याएको पाइएको डिएस्पी खत्रीले बताए । विप्लवका कार्यकर्ताको नियन्त्रणमा रहेका शिक्षक भण्डारीलाई सकुशल नियन्त्रणमुक्त गरिएको पनि प्रहरीले जनाएको छ ।

शनिबार (१३ भदौ) बिहान ९ः३० बजेको समयमा प्रतिबन्धित नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएकामा दिउँसो १ः०० बजे शिक्षक भण्डारी नेकपा कार्यकर्ताबाट नियन्त्रणमुक्त भएका उनले जानकारी दिए । बिहानै नियन्त्रणमा लिएको भए पनि प्रहरीलाई बिहान ११ः०० बजे जानकारी आएको र प्रहरीले खोजी गर्दा लायोगाउँबाट शिक्षकलाई छुटाउन सफल भएको प्रहरीको भनाइ छ ।

स्थानीयवासी र प्रहरीले शिक्षक भण्डारीलाई खोज्न थालेको खबर चन्द समूहका कार्यकर्ताले थाहा पाएलगत्तै शिक्षक भण्डारीलाई तीनपाटन गाउँपालिकाको वडा नं ८ लायोगाउँमा छाडेर उनीहरू फरार भएको डिएस्पी खत्रीले जानकारी दिए । उक्त घटनामा संलग्न महिला कार्यकर्तालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दैगर्दा अपहरणमा परेका शिक्षक भण्डारी पनि जिल्ला प्रहरी कार्यालयमा नै रहेका बताइएको छ । उनलाई के कारणले नियन्त्रणमा लिएका हुन् भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।