कोभिड-१९ परीक्षणको लागि जापानबाट २ करोड बराबरको किट सहयोग

कोभिड-१९ परीक्षणको लागि जापानबाट २ करोड बराबरको किट सहयोग


विशेष प्रतिनिधि, जापान

जापानको एक प्रसिद्ध चिकत्सकीय उपकरण निर्माता कम्पनी फुजुरेबायो इंकले कोभिड–१९ परीक्षणको लागि अत्यन्तै सहज र प्रभावकारी मानिएको ७ हजार पिस एन्टिजेन किट निःशुल्क नेपाल पठाएको छ ।

फुजिरेबायो इंक कम्पनी र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय गरिरहेका ग्लोबल नेपाल ट्रेडिङ एण्ड कन्सल्टेन्सीका इन्टरनेशनल मार्केटिङ डाइरेक्टर कपिलदेव थापाका अनुसार उक्त कम्पनीले ५० हजार एन्टिजेन किट नेपाललाई उपलब्ध गराउने सहमति भएको छ । सो सहमतीअनुसार बुधबार (सेप्टेम्बर २) पहिलोपटक नेपाल एयरलायन्स मार्फत ७ हजार पिस नेपाल पठाइएको हो ।

कोभिड–१९ परिक्षणका लागि पिसिआर परीक्षण भन्दा सहज तथा भरपर्दो मानिने यो एन्टिजेन किटको सहायताले ३० मिनेटमा कोभिड–१९ संक्रमण भए–नभएको नतिजा दिन सक्दछ । यस्तो किट उत्पादन गर्ने यो जापानको पहिलो कम्पनी हो । यसको प्रतिकिट मूल्य ४ हजार येन पर्दछ । यही मूल्यमा हिसाब गर्दा २ करोड २८ लाख येन मूल्य बराबरको एन्टिजेन किट निःशुल्क नेपाल पठाइएको हो ।

कम्पनीले सहमती गरेअनुसार भएमा अझै ४७ हजार यस्ता किट नेपाल जानेछन् । समन्वयकर्ता थापाका अनुसार नेपाल पठाउने काममा केही प्रकृयागत जटिलताहरु रहेकाले नेपाल पठाउने काम अपेक्षाकृत छिटो हुन सकिरहेको थिएन । अहिले भने नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नै चासो दिएर प्रकृया अगाडि बढाएकाले छिट्टै सबै टेस्ट केटहरु नेपाल पुऱ्याइने छ ।

नेपाललाई माया गर्ने फुजिरेबायो इंक कम्पनीका अध्यक्ष एवं कार्यकारी निर्देशक गोकि इसिकावाले कोभिड–१९ संक्रमण बढ्दै जाँदा परीणक्षणका लागि सहजीकरण गर्ने उदेश्यले यो ठूलो रकमका सहयोग गरेका हुन् ।

उक्त सामान पठाउनका लागि एनआरएनए आइसीसी मानार्थ सदस्य एवं यो फुजिरेबायो कम्पनी र र नेपाल सरकारबीचका समन्वयकर्ता कपिलदेव थापा, एनआरएनए आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठ एनआरएनए जापानका अध्यक्ष देवीलाल भन्डारी, प्रवक्ता सिद्धार्थ श्रेष्ठ तथा महिला संयोजक संगीता अधिकारी र चोंगु पार्क विमानस्थलमा पुगेका थिए ।