नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न आज (१८ भदौ) दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ ।

यसअघि यही भदौ १३ गतेका लागि निर्धारित सचिवालयको बैठक आज बिहान ११ बजेका लागि राखिएको थियो । सो समयलाई समेत सच्चयाउँदै पुनः दिउँसो ३ बजेका लागि बैठक तय गरिएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका हुन् ।

बैठकको मूल विषय राष्ट्रियसभामा रिक्त मनोनित कोटामा सदस्य सिफारिशबारे छलफल रहेको बताइन्छ । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको अवधि सकिएपछि पनि पुनः ६ महिनाको लागि मन्त्री कायम गरिएको थियो । अब सो अवधि पनि समाप्त हुन लागेकोले मन्त्री खतिवडाको जिम्मेवारी सम्बन्धमा तत्काल निर्णय लिनुपर्ने दबाबमा प्रधानमन्त्री परेका छन् । राष्ट्रिय सभामा रिक्त एक सदस्यको स्थानमा पुनः खतिवडालाई मनोनयन गराएर उनलाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिने मनसुवा प्रधानमन्त्री केपी ओलीले राखेको चर्चा यतिबेला व्याप्त छ । तर, बामदेव गौतम राष्ट्रियसभामा जान पुनः लालायित देखिएका छन् । यसले प्रधानमन्त्री ओलीलाई सकसमा पारेको विश्लेषण गरिँदैछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र सहअध्यक्ष प्रचण्डबीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शिघ्र पूरा गर्ने लगायत सुझाव छन् । यससम्बन्धमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।

ज्ञातव्य छ, यसअघि भदौ १ गतेको सचिवालय बैठकले कार्यदललाई बधाई ज्ञापन र अनुमोदन गरेको थियो । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदलमार्फत समाधान निकालिएको हो ।