नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेपछि अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्री पद धरापमा परेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार (१८ भदौ) बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराएपछि डा. खतिवडाको मन्त्री पदमा निरन्तरताको सम्भावना लगभग अन्त्य हुन पुगेको हो ।
नेकपा सचिवालयको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए । यही भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले नेता गौतमको नाम सिफारिस गर्ने भएको हो । मनोनयनका लागि गौतमले निकै आकांक्षा दर्शाउँदै आएका थिए ।
प्रतिनिधिसभा वा राष्ट्रियसभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद सदस्य हुन पाउने व्यवस्था संविधानमा नरहेको तथ्यतर्फ जानिफकारहरुले औंल्याउँदै आए पनि प्रधानमन्त्री ओली पुनः खतिवडालाई नै राष्ट्रियसभामा मनोनयनमा पारेर अर्थमन्त्रीका रुपमा निरन्तरता दिन चाहन्थे । तर युवराजको भूमिकाप्रति पार्टीभित्रै र बाहिर पनि व्यापक असन्तुष्टि रहँदै आएको र प्रचण्डलगायत पार्टीका वरिष्ठ नेताहरू उनको पक्षमा नरहेका कारण यसपटक पुनः उनको पक्षमा उभिने केपी ओलीको धृष्टता आफैंमा कमजोर बन्न पुगेको थियो । खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिए पनि संसद सदस्य नरही ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको लाभ उनलाई हासिल भएको थियो ।
प्रतिक्रिया