विगत साढे दुई वर्षदेखि अर्थमन्त्रालय कब्जा गरेर बसेका युवराज खतिवडालाई राष्ट्रिय सभामा नदोहोर्याइने भएपछि बित्तीय क्षेत्रमा खुशियाली उत्पन्न भएको पाइएको छ । अब अर्थमन्त्रालयले युवराजबाट मुक्ति पाउने विश्वासका आधारमा देशको सबै ब्यावसायिक क्षेत्र यसरी खुशी हुन पुगेको हो ।
तर, युवराज खतिवडा भने बुधबार (१७ भदौ) सम्म आफू निरन्तर पदमा रहने शतप्रतिशत विश्वासमा थिए । यहाँसम्म कि बामदेव गौतमले आफू राष्ट्रियसभामा जाने र अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसबमोजिम निर्णय लिन आग्रह गर्दै उक्त कुरा सार्वजनिक गरेपछि पनि युवराजलाई आफै पदमा रहने विश्वास थियो ।
यिनको पक्षमा उभिएका विश्व बैंकका प्रतिनिधि र शक्तिशाली पश्चिमी राष्ट्रका कुटनयिकहरुले प्रधानमन्त्रीलाई भेटेरै युवराजलाई निरन्तरता दिन आग्रह गरेकोले उनी विश्वस्त हुन पुगेका थिए । तर, बुधबार बिहानदेखि उनको स्थिति नकारात्मक बन्यो ।
प्रधानमन्त्री ओलीलाई पनि युवराजको कामबाट पूर्ण सन्तुष्टि मिलिरहेको थिएन, केपीनिकटका बहुसङ्ख्यक सासदहरूले समेत युवराजलाई बिदाई गर्न व्यापक दबाब दिएपछि उनी हट्ने स्थिति बनेको हो । सांसदहरूले भित्रभित्रै केपीलाई चर्को दबाब दिएपछि मात्र प्रधानमन्त्री ओली युवराजलाई निरन्तरता नदिने निष्कर्षमा पुग्नुभएको हो ।
त्यसपछि पनि बालुवाटारमा सल्लाहकार भएर कार्यकारी भूमिका निर्वाह गरिरहेका बिष्णु रिमाल र चीनलाई सूचना बेचेको आरोप लागेका राजन भट्टराईले अन्तिमसम्म युवराजलाई बचाउन कोसिस गरेका थिए । युवराज नभए अर्थतन्त्र बर्बाद हुने र अमेरिका पनि रिसाउने उनीहरूको तर्क थियो । तर परिस्थितिको गम्भीरता र सांसदहरूको भावनालाई दृष्टिगत गरि केपी आफ्नो अडानमा दृढ रहनुभयो । अब युवराजलाई अमेरिकाको राजदूत या मन्त्रीसरहको हैसियतमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनाउन दबाब पैदा गरिएको छ।
नेपालको इतिहासकै सबभन्दा असफल र अलोकप्रिय अर्थमन्त्रीको पहिचान बनाएका निजलाई सधैं उच्च पद दिइरहनुपर्ने कारण बुझ्न कसैले सकेका छैनन् । युवराज जस्ता मानिस नेपालमा रहँदा केपीलाई लोकप्रिय काम गर्न नदिने र जसलाई अर्थमन्त्री बनाए पनि काममा हस्तक्षेप गर्न सक्ने भएकोले उनलाई देशबाहिरकै पद दिएर खेद्नुपर्छ भन्ने धारणा नेकपाका एकथरी नेताहरूले बनाएको पाइएको छ । युवराजको बहिर्गमनसँगै आर्थिक क्षेत्र थोरै भए पनि चलायमान हुने र स्थानीय लगानीकर्ताहरू उत्साहित हुने विश्वास गरिएको छ।
प्रतिक्रिया