प्रतिबन्धित नेकपाका नेता विरही भरतपुर अस्पतालबाट पक्राउ

प्रतिबन्धित नेकपाका नेता विरही भरतपुर अस्पतालबाट पक्राउ


लेखक तथा पत्रकार अनिल शर्मा ‘विरही’लाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको छ ।

भरतपुर अस्पतालमा उपचाररत विरहीलाई प्रहरीले शनिबार (२० भदौ) अपराह्न अस्पतालबाटै गिरफ्तार गरेको हो ।

उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् । धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिइएको जानकारी दिँदै प्रवक्ता थापाले धनुषामा मुद्दा भएकोले उनलाई धनुषा नै पठाइने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर अस्पतालबाट उनलाई प्रहरी कार्यालय पुऱ्याइएको छ भने धनुषा प्रहरीसँग समन्वय गरी यथाशीघ्र विरहीलाई धनुषा नै पठाइने प्रहरीले जनाएको छ ।

नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आउनुभएको थियो । सोही बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पुऱ्याएको थियो ।

ज्ञात रहोस्, अनिल शर्मा विरही विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।