दोलखामा राप्रपाको विरोध प्रदर्शन

दोलखामा राप्रपाको विरोध प्रदर्शन


राप्रपाका कन्द्रिय सदस्य प्रवीणकुमार थोकरको रिहाइको लागि राप्रपा दोलखाका अध्यक्ष नवराज श्रेष्ठको नेतृत्वमा जिल्ला समन्वय समिति र प्रशासन कार्यालय घेराउ गर्दै राप्रपा दोलखाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

मेलुङ गाउँपालिकको भेडपुमा खानेपानीसम्बन्धी विवादमा गाविस अध्यक्ष नरबहादुर श्रेष्ठले अपशब्द प्रयोग गरी शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै सत्ताको बलमा पुलिस प्रशासन लगाई राप्रपा युवा नेता थोकर लगायत पाँच जना युवालाई जिल्ला प्रहरी कार्यालय दोलखामा थुनेर राखेको राप्रपाले जनाएको छ । त्यसैको विरोधमा निषेधाज्ञाको बाबजुद प्रदर्शन गरिएको हो ।

स्थानीय सत्ता र कम्युनिस्ट सर्वसत्तावादको विरूद्ध आफ्नो अधिकार रक्षाको लागि राप्रपा दोलखाले निरन्तर आवाज उठाउँदै आएको सो पार्टीका केन्द्रिय सदस्य विजय खड्काले जानकारी दिए । पक्राउ परेका राप्रपा नेता कार्यकर्ताको रिहाईको लागि राप्रपा अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी र दोलखाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य विजय खडकाले जोडदार आवाज उठाएका छन् ।

विरोध कार्यक्रममा भिमेश्वर नगरअध्यक्ष विष्णु श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । पक्राउ परेका राप्रपा नेता कार्यकर्ता रिहाइ नगरे अझ सशक्त विरोध कार्यक्रम गरिने केन्द्रीय सदस्य खडकाले बताए ।

ज्ञातव्य छ, शनिबार (२० भदौ) नेपाली काग्रेसको भातृसंगठन दोलखा तरूण दलले पनि कम्युनिस्ट सर्वसत्तावादको विरूद्ध दोलखामा विरोध प्रदर्शन गरेको थियो ।