बिपी जयन्ती विशेष रूपमा मनाउँदै काङ्ग्रेस

बिपी जयन्ती विशेष रूपमा मनाउँदै काङ्ग्रेस


जननेता बिपी कोइरालाको १०७औँ जन्मजयन्ती नेपाली काङ्ग्रेसले कोरोना भाइरस सङ्क्रमणको प्रतिकूलताबाट सुरक्षित रहँदै विशेष रुपमा मनाउने भएको छ ।

काङ्ग्रेसले भदौ २४ गते बुधबार तथा यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गरिसकेको जनाएको छ ।

कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्य रुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सूचित गरिएको काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । दिवसका अवसरमा राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रमसमेत समाविष्ट रहने पार्टी कार्यालयले जनाएको छ ।

केन्द्रीय तहबाट तीनदिने कार्यक्रम तय गरिएको र भदौ २४ गते जुम प्रविधिमार्फत सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताले सम्बोधन गर्ने ‘बिपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक कार्यक्रम तय गरिएको छ ।

यसै गरी भदौ २५ गते ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयक कार्यक्रम तय गरिएको र पार्टीका उपसभापति विमलेन्द्र निधि एवं अन्य विज्ञहरू वक्ता रहेको काङ्ग्रेसले जनाएको छ ।

भदौ २६ गते तय गरिएको ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रममा बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरी वक्ता रहेका छन् । जुममार्फत हुने तिनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेज (facebook.com/ nepalicongresshq/) बाट प्रत्यक्ष प्रसारणसमेत गरिने पार्टी कार्यालयले जनाएको छ ।