काङ्ग्रेस नेता भण्डारी भन्छन्- ‘यो दुनियाँकै दुर्लभ सरकार, सर्वहाराको होइन सर्वमाराको सरकार !’

काङ्ग्रेस नेता भण्डारी भन्छन्- ‘यो दुनियाँकै दुर्लभ सरकार, सर्वहाराको होइन सर्वमाराको सरकार !’


नेपाली कांग्रेसका नेता शंकर भण्डारीले ‘सर्वहारा’ वर्गको भन्दै गठित वर्तमान सरकार सर्वहाराको नभइ ‘सर्वमारा’को सरकार भएको गम्भीर आरोप लगाएका छन् ।

कांग्रेसको तरुण दल विभाग प्रमुखसमेत रहेका नेता भण्डारीले एक विज्ञप्ति जारी गर्दै नेपाली युवा–युवतीहरू काखमा बच्चा च्यापेर ज्यानको प्रवाह नगरी ताँती लागेर पैदल यात्रा गर्दै पलायन हुन थालेका र यो कारुणिक यथार्थ सरकारले देखे पनि नदेखे जस्तो गरेको बताएका छन् । मातृभूमिमा टेकेपछि जे जसरी पनि जीवन चलाउँला भनेर विदेशबाट आएकाहरू जीवन निर्वाहको कुनै आधार नपाएपछि जोखिम मोलेरै पनि लुरुलुरु त्यही बाटो फर्कन बाध्य भएका भण्डारीले औंल्याएका छन् ।

नेता भण्डारीले विज्ञप्तिमार्फत् भनेका छन्– एकातिर सरकारको नीति तथा कार्यक्रमको बुँदा नं ९० मा गरिबीका कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ र बुँदा नं १३८ मा ‘उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिः हुन्छ नेपालको समृद्धि’ भन्ने जस्ता नारा उल्लेख छन् भने अर्कोतिर श्रमजीवि वर्ग एक पेट खान नपाएर प्राण त्याग्दै छन् । चालु बजेटमा कामको लागि खाद्यान्न, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना आदि दर्जनांै स्वप्नील नाराहरू उजागर गरिएका छन् र अर्बौं रुपैयाँ त्यसमा विनियोजन गरिएको छ तर हप्तौँसम्मको पैदल यात्रा, सरकारको अवरोध र अपमान छिचोल्दै कोरोनाको महामारीबाट बच्न स्वदेश फर्केका नागरिक तीन महिना नबित्दै केवल आफू र आफ्नो परिवारको पेट भर्ने चारा जुटाउन नसक्दा बाध्य भएर फेरि विदेश पलायन भएको दुःखद यथार्थ हाम्रो सामु छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘मित्रराष्ट्र भारत अहिले कोरोना संक्रमणको दरले संसारको पहिलो र संख्याले दोस्रो मुलुक हो । त्यस्तो जोखिम भोगिरहेको मुलुकतर्फ अहिले नेपाली युवा युवतीहरू काखमा बच्चा च्यापेर ज्यानको प्रवाह नगरी ताँती लागेर पैदल यात्रा गर्दै पलायन हुन थालेका छन् । सरकारले यो देखेकै छैन वा देखे पनि नदेखे जस्तो गरेको छ । मातृभूमिमा टेकेपछि जे जसरी पनि जीवन चलाउँला भनेर आएकाहरू जीवन निर्वाहको कुनै आधार नपाएपछि जोखिम मोलेरै पनि लुरुलुरु त्यही बाटो फर्कन बाध्य भएका छन् ।’

बजेटले व्यवस्था गरेका कार्यक्रमहरू अमुक ठेकदार र दलालको निर्देशनअनुसार सञ्चालन तथा खर्च गर्ने सत्ताधारी नेतृत्वको चरित्रतर्फ इङ्गित गर्दै भण्डारीले भनेका छन्– ‘सरकारलाई लागेको होला ती आफ्ना कार्यकर्ता होइनन्, जाबो एक भोट के ठूलो कुरा हो र फेरि एक छाक खाना जुटाउन नसक्नेको भोट यत्रो विशाल पार्टीलाई के आवश्यक छ ? नेकपा नेतृत्वको सरकार सोच्दै छ कि जनताले बुझेकै छैनन्, नेकपा नेतृत्वको सरकार चानेचुने सरकार होइन ! यसलाई भूइँतहका गरिव–गुरुवाको भोट चाँहिदैन । यो त उन्मत्त साँढे जस्तो विशाल भइसकेको छ, अब यो दलाल नोकरशाहीबाट पोषित र उनीहरूकै स्वार्थमा काम गर्ने पार्टी हो । यो जनताले पत्तै नपाई रातारात सर्वहाराको पार्टीबाट सर्वमारामा रुपान्तरित भइसकेको छ । बजेटले व्यवस्था गरेका कार्यक्रमहरू अमुक ठेकदार र दलालको निर्देशनअनुसार सञ्चालन एवम् खर्च गर्ने गरेको छ । जसले अर्को चुनावमा नेकपालाई खर्चको प्रबन्ध गर्न सकोस् । नाथे भोट त जस्ले पनि दिन्छ, त्यो के ठूलो कुरा हो र ? आदि, आदि ।’

‘अर्बौंको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना ल्याइयो तर किसानलाई एक गेडो मल नदिइ दलाल पोस्ने र गरिब किसानको ढाड सेक्ने काम भैरहेको छ । विदेशबाट फर्केका युवालाई रोजगारी दिने, व्यवसाय गर्न सहयोग गर्ने भाषण गरियो तर घर फर्केको तीन महिना नबित्दै बिल्लिबाठ भएर युवा विदेश पलायन हुन बाध्य भए । वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश फिर्ता ल्याउने तथा उनीहरूको कल्याण एवम् पुनःस्थापनामा खर्च गर्ने भनियो तर हजारौँ नागरिक विभिन्न देशमा अलपत्र परेर रोइरहेका छन्, त्यो क्रन्दन सरकार सुन्दैन । जनताप्रति कुनै जिम्मेवारी बोध नभएको यो सरकारले नेपाल र नेपालीलाई कुन रसातलमा पुऱ्याएर छाड्ने हो पत्तो छैन । प्रधानमन्त्रीका चर्का भाषण तथा आकर्षक नारा जनता झुक्याउन र दलाल पोस्नका लागि थिए भन्ने तथ्य अहिले लोकले बुझिसकेको छ ।’

संकटको समयमा इमान्दारिता र क्षमताको वास्तविक परीक्षण हुने उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भण्डारीले करिव दुई तिहाईको वर्तमान सरकारलाई जनताको विश्वास, भरोसा एवं भोट बाँदरको हातमा नरिवलसरह भएको आरोप लगाउँदै भनेका छन्– ‘सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । पदको बाँडफाँड, वेपर्वाह नियुक्ति, निकटस्थलाई राज्यकोषबाट ठेक्का र सत्ताको हानथापमा बालुवाटार र सिंहदरबारको सेरोफेरोमा सारा शक्ति खर्च भएको छ । कोरोना अहिलेको सरकारको लागि बरदान सावित भएको छ । लुटतन्त्र मच्चाउने स्वर्णिम अवसरको रुपमा यसलाई उपयोग गरिएको छ । सरकारको इमान्दारिता र क्षमता पूरै माटोमा विलय भएको छ । इतिहासले मूल्यांकन गर्ला सायद यस्तो वेपर्वाह सरकार दुनियाँमा पाउन कठिन नै होला ।’

‘मुलुक बन्दाबन्दीमा रहेको करिब ६ महिना हुन लाग्यो, स्वास्थ्य सुरक्षाका आधारभूत प्रबन्ध समेत गरिएको छैन । कोरोना बाहेकका अन्य बिरामीले अस्पत्ताल पस्न नपाई गेटमा नै प्राण त्यागेका छन् । श्रमजीवी वर्ग भोकभोकै मर्दैछन् । उद्यम व्यवसायको अस्तित्व समाप्त हुदैछ । विदेशमा हजारौँ नेपाली अलपत्र परेका छन् । किसानहरू मल, बिउ नपाएर छटपटाएका छन् । स्वदेश फर्केका युवा केही कुनै सहयोग र सहारा नपाएर फेरी विदेशिन बाध्य भएका छन् । देशमा जनताले चुनेको सरकार छ भनेर कसले स्वीकार्ने अवस्था होला ? भ्रष्टाचार, कुशासन, अराजकता र लुटको चरम अभ्यासमा मुग्ध रहेको यो सरकारलाई सही बाटोमा ल्याउन अब कठिन नै देखिन्छ’, कांग्रेसका केन्द्रीय सदस्य भण्डारीको विश्लेषण छ ।

वक्तव्यको अन्त्यमा नेता भण्डारीले भनेका छन्– ‘सधैं सत्तामा टिकिरहिन्छ, आसेपासेको सेवा नै सबै थोक हो भन्ने कमोजोर एवं संकुचन मानसिकताबाट बाहिर निस्केर जनताको जनजीवनलाई सहज बनाउने कार्यमा केन्द्रित हुन सरकारसँग अनुरोध गर्दछु । कोरोना महामारीबाट जनतालाई सुरक्षित राख्न स्वास्थ्य पूर्वाधार तथा अन्य तयारी तत्काल गरियोस्, नियमित स्वास्थ्य उपचारलाई सहज बनाइयोस्, दैनिक गुजारा गर्न समस्या रहेकालाई तत्काल राहतको प्रवन्ध गरियोस्, यथोचित स्वास्थ्य सजगता अपनाएर उद्योगधन्दा, कलकारखाना संचालनको प्रबन्ध गरियोस्, लाखौं विद्यार्थीको भविष्यलाई ध्यान दिई पठनपाठको उचित प्रबन्ध होस्, युवाहरूलाई देशमा रोजगारीको प्रबन्ध होस्, विदेशमा अलपत्र नागरिकको तत्काल उद्धार होस्, साथै भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्यको जोडदार माग गर्दछु । मुलुकमा आएको विषम परिस्थितिमा पनि जनताको दुःखलाई वेवास्ता गर्दै राष्ट्रिय ढुकुटीमाथि रजाई गरिरहँदा कुनै पनि दिन यो सरकारका विरुद्ध जनताको धैर्यको बाँध फुट्न सक्नेतर्फ सचेत गराउन चाहन्छु ।’