बाढीका कारण सालझण्डी-ढोरपाटन सडकको १० किलोमिटर क्षति

बाढीका कारण सालझण्डी-ढोरपाटन सडकको १० किलोमिटर क्षति


बागलुङको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पुऱ्याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउरालीनजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटेपछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पुऱ्याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ ।

बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटनको बाढीले सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको छ भने जिल्ला सदरमुकामदेखि करिब १२१ किलोमिटरको दूरीमा रहेको बाढीग्रस्त क्षेत्रमा राहत पुऱ्याउन नसक्दा प्राप्त राहत पनि बुर्तिवाङमै थन्किएको छ ।

बताइएअनुसार ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँद्वारसम्मको सडक ठाउँ–ठाउँमा बगाएको छ । सडक भएको स्थानमा भूजीखोलाको बाढी आए पछि दुई किलोमिटर पैदल मार्गसमेत छैन ।

चट्याङ लागेर मृत्यु

बागलुङको ताराखोलामा चट्याङ लागेर गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

मोवाइल चार्जमा राख्ने क्रममा घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले जानकारी दिएका छन् । चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवाको शवलाई पोष्टमार्टमपछि आज (२५ भदौ) परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।