किन लगाइयो कर्फ्यू ?
सुनसरी जिल्ला प्रशासन कार्यालयले आज (११ साउन) बिहान ७ः०० बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
कार्यालयले चार किल्ला तोकी उक्त सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । उक्त आदेश उल्लङ्घन भएमा रु एक हजार जरिवाना वा एक महिनासम्म कैद हुनसक्ने प्रशासनले जनाएको छ ।
कार्यालयले इलाका (क) अन्तर्गत भण्टाबारी बजार क्षेत्रमा पूर्वतर्फ जुनिया टोल, पश्चिमतर्फ पश्चिम घुस्की धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ वसन्तपुर मोडसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
साथै इलाका (ख) घुस्की बजार क्षेत्रमा पूर्वतर्फ मोरङ्गा धार खोला, पश्चिमतर्फ इङ्गिलस फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ हरिनगर गाउँपालिका कार्यालय तथा इलाका (ग) कप्तानगञ्ज बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ यादव टोल, पश्चिमतर्फ पाँचौँ रिसाल मावि, उत्तरतर्फ कृष्ण मावि र दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
कार्यालयका अनुसार इलाका (घ) बस्ती बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ कासिमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर, दक्षिणतर्फ दिलशाद पब्लिक स्कुल तथा इलाका ९ङ० ९देवानगञ्ज बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिमतर्फ मोरिया खोला, उत्तरतर्फ बिड्रा मिल र दक्षिणततर्फ गापा कार्यालयसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
निषेध आदेश जारी
सुनसरी जिल्ला सुरक्षा समितिको आजको बैठकले जिल्लाका विभिन्न स्थानमा निषेध आदेश जारी गरेको छ । कार्यालयले हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा उक्त आदेश जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आज बिहान ७ः०० बजेदेखि साँझ १९ः०० बजेसम्म एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेध आदेश जारी गरिएको कार्यालयले जनाएको छ ।
कसैले उक्त आदेशको उल्लङ्घन गरेमा सोही उपदफा बमोजिम रु पाँच हजारसम्म जरिवाना र एक महिनासम्म कैद हुनसक्ने कार्यालयको भनाइ छ ।
यसकारण जारी गरियो कर्फ्यू आदेश
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति सवा १० बजेतिर साउन महिनामा हुने बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ जाने क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएका थिए । त्यसक्रममा दुवै पक्षबीच सुरु भएको भनाभन ठेलाठेलमा परिणत हुँदै झडपमा बदलिएको थियो ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा पुगेको थियो । दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित ८ जना नेपाल प्रहरीका कर्मचारी घाइते भएका थिए । त्यसपछि प्रहरी निरीक्षकसँग रहेको पेस्तोलबाट तीन राउन्ड हवाई फायर गरिएको सुनसरी प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका-४ का ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको थियो ।
यस घटनालाई लिएर आन्दोलन र थप झडपको परिस्थिति निम्तिन नपाओस् भन्ने हेतु जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाइएको छ ।
प्रतिक्रिया