नेपालमा बिहीबार (२५ भदौ) थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा वृद्धि भएको यस आँकडासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, बिहीबार १ हजार ८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् ।
काठमाडौंका ५९ र ८३ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ।
प्रतिक्रिया