पत्रकार वीरेन्द्र साहको हत्यारा हरेराम पटेल भन्ने हरेरामप्रसाद कुर्मी लाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
बारा तेलकुवाका कुर्मीलाई बाराका विभिन्न स्थानमा लुकिछिपी बसेको अनुसन्धान तथा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बिहीबार (२५ भदौ) बाराकै कोल्हवी नगरपालिका वडा नं. ४ सपही टोलमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
स्थानीय क्षेत्रमा कुख्यात अपराधीको पहिचान बनाएका कुर्मीले २०६४ साल असोज १८ गते साबिकको बारा गाबिस उम्जनअन्तर्गत पिप्रा वसतपुरबाट बारा इनर्वासिरा–८ बस्ने पत्रकार वीरेन्द्र साहको हत्या गरेका थिए ।
प्रहरीले जनाएअनुसार हरेराम पटेल भन्ने हरेरामप्रसाद कुर्मी, कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, रामएकवाल सहनी र मनेजर गिरिसमेतका पाँच जना व्यक्तिहरूले अपहरण गरी लगेर गोली हानी मारेर पत्रकार साहको शवलाई जिल्ला बारा डुमरवाना वडा नं. ७ स्थित जंगलमा खाल्टो खनी गाडेको अवस्थामा मिति ०६४ कात्तिक २२ गते फेला परेको थियो ।
कुर्मी ०६४ सालदेखि नै फरार रहँदै आएका थिए भने मनेजर गिरीलाई मिति २०६५ असोज १९ गते र राम एकवाल सहनीलाई मिति २०६५ पुस २१ गते पक्राउ गरी अनुसन्धानपश्चात अदालतको निर्णयबाट सर्वस्वसहित जन्म कैद हुने फैसला भएको थियो ।
यस्तै, कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदारलाई २०७६ फागुन २५ गते पक्राउ गरी कानुनी प्रक्रिया पुऱ्याएर ०७६ फागुन २९ गते थुनामा पठाइएको थियो ।
प्रतिक्रिया