‘खास’ उजुरी नपरेपछि प्रस्तावित राजदूतत्रयको नाम अनुमोदित

‘खास’ उजुरी नपरेपछि प्रस्तावित राजदूतत्रयको नाम अनुमोदित


जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतत्रयको नाम सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार समितिको बिहीबार (२५ भदौ)को बैठकले तीनै जना प्रस्तावित राजदूतहरूको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि योग्य ठहऱ्याई सर्वसम्मतिले नाम अनुमोदन गरेको हो ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारीलाई बेल्जियम र युरोपेली सङ्घ, तापस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीको लागि नेपाली राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

यसअघि समितिले उक्त पदमा प्रस्तावित व्यक्तिहरूलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजूरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेकामा एकबाहेक अन्य उम्मेदवारप्रति लक्ष्य गरी उजूरी नआएको सभापति कर्णले बताए ।

बताइएअनुसार समावेशी भएन भनी सैद्धान्तिक प्रश्न उठाइएका चार वटा उजूरी इमेलमार्फत प्राप्त भएको थियो भने प्रस्तावित राजदूत राजभण्डारीका नाममा भने बेरुजुसंँग जोडिएको एउटा उजुरी पनि परेको थियो । तर, त्यसलाई समितिले ‘ठूलो’ मुद्दा नठानेको बुझिएको छ ।