चीनसँगको सीमा नाका ताप्लेजुङ्को ओलाङ्चुङ्गोला र भारतसँगको सीमा नाका दार्चुलाको दत्तुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि सशस्त्र प्रहरी बलले गरेको प्रस्तावमा गृहमन्त्रालयले स्वीकृति प्रदान गरेको छ ।
मुलुकका विभिन्न क्षेत्रमा विओपी स्थापना गर्नुपर्ने भन्दै सशस्त्रले गृहमन्त्रालयमा पेश गरेको प्रस्तावअनुसार दुई ठाउँका लागि मन्त्रालयले बिहीबार (२५ भदौ) सो स्वीकृति दिएको हो ।
विओपी राख्नका लागि स्थानीय तहसँग छलफल भइरहेको बताइएको छ । जग्गा प्राप्त हुनेवित्तिकै चौकी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिएका छन् ।
अन्य क्षेत्रमा पनि क्रमशः चौकी स्थापना गर्ने योजना सरकारको छ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको सीमा क्षेत्रमा ५०० चौकी स्थापना गर्ने यसअघि नै घोषणा गरेका थिए ।
उक्त योजनाअनुसार चरणबद्ध रुपमा चौकी स्थापना गर्दै लगिने गृहको तयारी रहेको बताइन्छ ।
हाल चीन र भारतको सीमा क्षेत्रमा १५७ स्थानमा चौकी स्थापना भइसकेको छ । पछिल्लो एक वर्षमा मात्रै ५० स्थानमा चौकी स्थापना गरिएको अर्यालले जानकारी दिए । मन्त्रालयका अनुसार ५०० वटा चौकी स्थापना गरिँने योजना छ र तीमध्ये पहिलो चरणमा २२१ स्थानमा स्थापना गर्ने लक्ष्य राखिएको छ ।
सशस्त्र प्रहरीले जनाएअनुसार चालु आर्थिक वर्षभित्रमा चौकी स्थापना कार्य सक्ने योजना रहेको छ र हरेक चौकीमा ३५ जना सशस्त्र प्रहरी रहने छन् ।
प्रतिक्रिया