अवैध ढङ्गले अकूत कमाएको अभियोगमा तत्कालिक इञ्जिनियर गुप्तामाथि मुद्दा

अवैध ढङ्गले अकूत कमाएको अभियोगमा तत्कालिक इञ्जिनियर गुप्तामाथि मुद्दा


पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदा गैरकानुनी तवरले अकूत सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको सम्बद्ध पक्षको दाबी छ ।

आयोगका अनुसार गुप्ताकोे वैध आय रु. एक करोड ११ लाख ६९ हजार ९६२ मात्रै रहेको भए पनि रु १७ करोड ८४ लाख २६ हजार ४५९ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको रकमको स्रोत नखुलेकाआयोगको ठकर छ ।

आयोगले गुप्ताका आफन्तहरू अन्जुकुमारी महतो, उदितनारायाण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रितीकुमारी गुप्ता, डा. रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली रु १० करोड ४४ लाख ४३ हजार ७८३ बराबरको रकम लुकाई छिपाई राखेको पाइएको खुलासा गरेको छ ।

१६ करोड मात्रै अवैध आर्जन गरेको अख्तियारका अनुसन्धानले देखाए पनि गुप्तालाई नजिकबाट चिन्नेहरू उनले योभन्दा निकै ठूलो परिमाणमा अवैध आर्थिक उपार्जन गरेको हुन सक्ने आशङ्का प्रकट गर्दछन् ।

आयोगले उल्लिखित पात्रको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको छ ।