सुन्दरमाला : आठ वर्ष जमिनमा बस्दैनबसी जसको जीवन समाप्त भयो

सुन्दरमाला : आठ वर्ष जमिनमा बस्दैनबसी जसको जीवन समाप्त भयो


अजङ्गको शरीरलाई सधैं उभिएर थाम्न निकै सकस हुन्छ । त्यसमाथि प्राणीजगतमा आरामका लागि प्रायः सुत्नु नै पर्छ, त्यो पनि भुइँमा लम्पसार परेर । चितवन राष्ट्रिय निकुञ्जको एउटा अजङ्गको ढोइ सुन्दरमालाको जीवन आठ वर्ष उठेरै गुज्रियो । जब भुइँमा लड्यो, उसले आफ्नै जीवन नै समाप्त गऱ्यो ।

निकुञ्जको सौराहास्थित हात्तीसारमा रहेको सुन्दरमाला नामक हात्ती आठ वर्षदेखि कहिल्यै भूइँमा सुतेन । ऊ आफैँलाई बाँधेको खबारी (खाँबो)को सहारामा आड लगाएर निदाउने गथ्र्यो । भदौ २१ गते जब ऊ भुइँमा लम्पसार पऱ्यो, जीवनको अन्त्य पनि त्यही बेला भयो ।

सो ढोइको नौ वर्षयता रेखदेख गर्दै आउनुभएकी फनित मीना महतो सात–आठ वर्षअघि एक दिन बसिरहेका बेला जङ्गली हात्ती ‘जिरे’ले हानेदेखि मृत्यु भएको दिनसम्म ऊ नबसेको बताउनुहुन्छ । उठ्दाउठ्दै पछाडिका खुट्टा सुन्निएका थिए । महतोले भन्नुभयो ‘धान्न नसकेपछि जब हात्ती बस्यो, सोही दिन कहिल्यै नउठ्ने गरी जीवन समाप्त गऱ्यो ।’

मृत्यु हुनु तीन दिनअघिसम्म हात्ती आहाराका लागि जङ्गल जाने गरेको उहाँले बताउनुभयो ।

विसं २००२ मा जन्मिएको भनिएको सो हात्ती भारतबाट ल्याइएको हो । महतो भन्नुहुन्छ- ‘बडामहारानी, राजारानी चढ्ने हात्ती हो रे यो ।’ निकै ज्ञानी भएकाले राजपरिवारले मन पराएको भन्ने आफूले सुनेको उहाँले जानकारी दिनुभयो । पोथी हात्ती सुन्दरमाला लामो समय निकुञ्ज सुरक्षामा खटिए पनि जीवनभर कहिल्यै सन्तान भने जन्माएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठ कुनै-कुनै हात्ती बसेपछि उठ्न नसक्ने डरले नबस्ने गरेको बताउनुहुन्छ ।

उहाँका अनुसार हात्तीको तौल चार हजार किलो हाराहारी हुन्छ । उहाँले भन्नुभयो- ‘शरीर कमजोर हुँदै गएपछि उठ्न सक्दिन भन्ने ठानेरै हात्ती नबसेको होला ।’ आफू बसेको बेला जङ्गली हात्तीले आक्रमण गरेकाले बस्दा फेरि आक्रमण हुने डरले पनि नबसेको हुन सक्ने आकलन गरिएको छ ।

निकुञ्जका विभिन्न ठाउँमा ५८ हात्ती छन् । विगतमा पर्यटकलाई घुमाउनसमेत प्रयोग हुने गरेका हात्ती पछिल्लो समय सुरक्षाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । निकुञ्जमा अन्य सवारी साधन पुग्न नसक्ने ठाउँमा समेत हात्ती जाने भएकाले निकुञ्ज सुरक्षाका लागि हात्तीको निकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

निकुञ्जको हात्ती प्रजनन केन्द्रमा जन्मिएका छावालाई त्यहीँ तालीम दिएर सुरक्षामा परिचालन गर्ने गरिन्छ । शुरुआती दिनमा भने भारतलगायत विभिन्न ठाउँबाट हात्ती किनेर यहाँ ल्याइएको हो । भीमकाय जनावर हात्ती पाल्न खर्च पनि निकै लाग्छ । हात्तीलाई धान र सख्खर मुछेर घाँसमा बेरी कुची तयार पारेर खुवाइन्छ । उसलाई घाँसे मैदान र जङ्गलमा चराउन पनि लगिन्छ ।रासस