थिमि निकोसेरामा एकै परिवारका तीन जनाको हत्या

थिमि निकोसेरामा एकै परिवारका तीन जनाको हत्या


भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेका अवस्थामा शुक्रबार (२६ भदौ) शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि लगभग ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन् । दोस्रो तलाको भऱ्याङनजिकै घरमा पालेको कुकुरसमेत मरेका अवस्थामा भेटिएको बताइएको छ ।

शुक्रबार करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गरेका थिए । उनले बताएअनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए । मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिइन् ।

तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताइन् । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले शुक्रबार राति साढे ८ बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले घरका तीन जनाको शङ्कास्पद मृत्यु भएको पाइएको जानकारी दिए । उनका अनुसार कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएन । अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न सकिँदैन ।

pict: rss