भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकमा संक्रमण पुष्टि

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकमा संक्रमण पुष्टि


भरतपुर अस्पतालमा मृत्यु भएका तीन जनामध्ये एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जानकारी गराएको छ । मृत्युपछि सङ्क्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् ।

बताइएअनुसार अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा बिहीबार राति उनको मृत्यु भएको थियो । मृत्युपछि गरिएको नमुना परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको बताइएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ । उनको पनि उपचारका लागि अस्पताल पुग्दानपुग्दै मृत्यु भएको थियो ।

यस्तै, बिहीबार दिउँसो अस्पतालको सघन उपचार कक्षमा खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको थियो । पौडेलका अनुसार उनको पनि नतिजा नेगेटिभ आएको छ ।

मृतक तीनै जनालाई ज्वरो, खोकीसहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो ।

अस्पतालले जनाएअनुसार यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा अन्य तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।