कपिलवस्तु प्रहरीको उदाहरणीय कार्य : संक्रमितलाई भेटेर फलफुल र स्वास्थ्य किट प्रदान

कपिलवस्तु प्रहरीको उदाहरणीय कार्य : संक्रमितलाई भेटेर फलफुल र स्वास्थ्य किट प्रदान


■ नारद कोहार, तौलिहवा

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आइशोलेशनमा रहेका संक्रमितलाई प्रत्यक्ष भेटेर फलफुल र स्वास्थ्य किट प्रदान गरिएको छ ।

कोरोनासंक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिकजसो सार्वजनिक भएका छन्, तर कपिलवस्तु प्रहरीले भने यस्ता घटना निरुत्साहित बनाउन आइशोलेशनमा रहेका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफुलसँगै स्वास्थ्य किट दिएको हो ।

कपिलवस्तु नगरपालिकाको आइशोलेशन र होम आइशोलेशनमा रहेका ३१ संक्रमितलाई फलफुल र स्वास्थ्य किट दिइएको छ ।

यही भदौ २२ गते संक्रमणका कारण मृत्यु भएका सञ्चारकर्मी बनारसी वर्माको परिवारका संक्रमण भएका सदस्यलाई भेटेर स्वास्थ्यलाभको कामना गर्दै फलफुलसँगै स्वास्थ्य किट प्रदान गरिएको थियो ।

कोरोनासंक्रमित भई आइशोलेशनमा रहेका कपिलवस्तु नगरपालिकाका संक्रमितलाई घरमै पुगी हौसला प्रदान गरिएको र कार्यक्रमलाई अन्य स्थानमा समेत सञ्चालन गर्ने योजना रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

कोरोनासंक्रमितको मनोबल उच्च बनाउनका लागि भेटघाट गरी स्वास्थ्यलाभको कामना गर्ने कार्य अगाडि बढाइएको कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले पनि पुष्टि गरे ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा प्रजिअ पौडेल, प्रहरी उपरिक्षक नवराज अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक ध्रुव कार्की, अनुसन्धान प्रमुख जयेन्द्र उपाध्यायसहितको टोली होम आइशोलेशनमा रहेका संक्रमितको घर–घरमा पुगेको थियो । वितरण गरिएको स्वास्थ्य किट युएफएड र युनिसेफले सहयोग गरेको थियो भने कपिलवस्तु प्रहरीले सबैलाई फलफुल उपलब्ध गराएको थियो ।

कपिलवस्तु जिल्लामा हाल सम्म १ हजार २ सय ३० जनामा कोरोना संक्रमण देखिएकोमा १ सय ५९ सक्रिय संक्रमित छन् । जिल्लामा हाल सम्म ६३ जना सुरक्षाकर्मीसमेत संक्रमित भएका छन् ।