पछिल्लो २४ घण्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४,१५९ पुगेको छ।
आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार १ सय १७ र क्वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ३८,६९७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । ६ हजार ५ सय ३६ जना क्वारेन्टिनमा छन्।
कोरोनाबाट ७६ वर्षीया महिलाको निधन
यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार ती महिलामा मुटुसम्बन्धी समस्या थियो । यही भदौ २० गते अस्पताल भर्ना गरिएकी ती महिलालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या तनहुँदा चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौं र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको पनि काठमाडौंमा निधन भएको थियो ।
प्रतिक्रिया